धावक नारायण श्रेष्ठले कुवेतमा चम्काए आफ्नो नाम

वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेका नेपालका गोल्ड मेडलिष्ट म्याराथन धावक गुल्मीका नारायण श्रेष्ठले त्यहाँ पनि आफ्नो नाम चम्काइरहेका छन् । दुई वर्ष अघि वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेका उनले त्यहाँ पनि आफ्नो खेलरुचिलाई जीवितै राख्दै प्रतियोगितामा सहभागिता जनाएका छन् । हाफ म्याराथन धावक रहेका श्रेष्ठले कुवेत पुगेका २ वर्ष पनि नबित्दै दर्जनौ प्रतियोगितमा सहभागिता जनाएर अधिकांश खेलमा उत्कृष्टता प्रदर्शन गरेका छन् भने हाफ म्याराथनमा आफ्नो पुरानो रेकर्ड समेत तोड्न सफल भएका छन् ।

गत मार्च २८ तारिक भएको म्याराथन प्रतियोगितामा उनले नयाँ रेकर्ड कायम राख्दै म्याराथन हिरोको रूपमा चिनिएका छन् । त्यसो त गत वर्षको प्रतियोगितामा पनि उनी नै प्रथम भएका थिए ।कुवेत स्थित अमेरिकीन युनिभर्सिटी अफ मिडल इस्ट कार्यरत रहि युरोप, अमेरिका, अफ्रिका, मध्यपुर्व र दक्षिण एशियाका प्रतियोगीहरूसँग सहभागिता जनाएर प्रतियोगितामा पहिलो भएका उनले यस पटक लगभग नेपाली २ लाख रूपैयाँ धनराशिको पुरस्कार जितेका छन् ।

२०७० सालमा म्याराथनमा दर्ता भएका उनले कान्तिपुर हाफ म्याराथनमा समेत सहभागी भएका थिए भने काठमाडौमा आयोजित मदन भण्डारी स्पोर्ट्स जुनियर म्याराथनमा गोल्ड मेडल हात पार्दै आफ्नो कीर्तिमानी यात्रा अगाडि बढाएका थिए ।

म्याराथन मै विशेषज्ञता हासिल गर्ने लक्ष्य लिएका श्रेष्ठलाई  कुवेतस्थित खेलकुद क्लबहरूले बोलाए पनि आफू नगएको उनको भनाइ छ । नेपाल सरकारले खेलकुदको विकास र खेलाडीहरूको निमित्त अवसरको सृजना गरे स्वदेश फर्कने उनको योजना छ ।


ताजा खबर