नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटनको तयारी तीब्र

सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन पाँच दिन मात्रै बाँकी छ । अर्थात्, सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमण वर्ष सचिवालयका अनुसार राजधानीमा दशरथ रङ्गशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रममा मार्चपास, विविध सांस्कृतिक प्रस्तुति हुनेछन् । कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुनुपर्नेछ । मार्चपास तथा ¥यालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ । तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो ३ बजे शुरु हुनेछ ।

भ्रमण वर्षलाई भव्य बनाउने सन्दर्भमा पर्यटनमन्त्री योगेशकुमार भट्टराई अहोरात्र खटिएका छन । भ्रमण वर्षकै सन्दर्भमा पछिल्ला दिनमा मन्त्री भट्टराईले १०० भन्दाबढी सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरी अभियानलाई सफल पार्न सक्रियता जनाइदिन आग्रह गरेका छन। पर्यटनमन्त्रीले यही पुस ६ देखि ९ गतेसम्म दैनिक छलफल गरे। यो अवधिमा मन्त्रीले कुनै दिन दैनिक नौदेखि १० वटा सङ्गठनसँग पनि छलफल गरेका छन । दिनमा छलफल तथा विमानस्थल अवलोकनदेखि पर्यटकीय पूर्वाधारका धेरै कामप्रति चासो राख्दै मन्त्रीले आफ्नो सक्रियता बढाएका छन् ।

उनले सरकारी, सार्वजनिक निकाय तथा निजी क्षेत्रका सङ्घसंस्था, व्यापारिक प्रतिष्ठान, स्काउट, लायन्स, रेडक्रसजस्ता संस्थासँग अन्तक्र्रिया गरिरहेका छन । नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित सरकारले नेपाल भ्रमण वर्ष मनाउँदैछ । भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकाङ्क्षी लक्ष्यलाई सार्थक तुल्याउन विशेष जिम्मेवारी रहेको पर्यटन मन्त्रालय र त्यसको नेतृत्व गर्ने पर्यटनमन्त्री तथा मातहत निकायका प्रमुख लागि परेका छन । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष घोषणासँगै सन् २०२०–२०३० लाई पर्यटक दशकका रूपमा मनाउने गरी तयारी गरिएको जानकारी दिए । उनले भने , “भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य हो । तर २०२० अन्तिम होइन, यो भ्रमण वर्षको शुरुआत हो । हामी एक दशकलाई पर्यटन दशकका रूपमा मनाउने अभियानमा छौँ, उक्त अवधिमा पर्यटकीय पूर्वाधारको कामलाई प्राथमिकता दिन्छौँ ।”

भ्रमण वर्ष सचिवालयलाई यतिखेर भ्याइनभ्याइ छ । भ्रमण वर्षको तयारीका लागि सचिवालयका सबै जनशक्ति सक्रियरुपमा लागेको सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले बताए । उद्घाटन कार्यक्रममा देशभित्र १६ हजारलाई निमन्त्रणा गरिएको छ ।

भ्रमण वर्ष नजिकिँदै जाँदा पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय र बोर्ड यसको उद्घाटन कार्यक्रमलाई भव्य बनाउने तयारीमा जुटेको सचिवालयका उपसचिव राजन पौडेलले जानकारी दिए । उनले उद्घाटन कार्यक्रमदेखि भ्रमण वर्ष अवधिभर गरिने काम, विदेशमा गरिने प्रवद्र्धनलगायतका काममा आफूहरु व्यस्त भएको बताए । सचिवालयमा संयोजक, सदस्यसचिव, उपसचिवलगायत ३० कर्मचारी छन् ।

चालिस देशका सञ्चारकर्मी आउने

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा ४० भन्दाबढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता रहनेछ । भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकबाट प्रतिष्ठित सञ्चारमाध्यमको प्रतिनिधित्व रहनेछ । विदेशी पत्रकारलाई देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा तीनदेखि पाँच दिनसम्मको भ्रमणको व्यवस्था मिलाइएको व्यवस्थापनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

भ्रमण वर्षको भव्य उद्घाटन गरी नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वमा प्रवाह गरिने भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताए । उद्घाटन कार्यक्रम हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद पछि नेपालमा आयोजना हुने अर्को ठूलो अन्तरराष्ट्रियस्तरको कार्यक्रम हुने उनको भनाइ थियो । त्यसका लागि सचिवालयले सम्पूर्ण तयारी गरिरहेको उनले जानकारी दिए । स्वदेश तथा विदेशी राजदूतावासमा हुने उद्घाटन कार्यक्रमको अन्तिम तयारी सकिएको संयोजक वैद्यको भनाइ थियो ।

उद्घाटनमा दुई करोड खर्च

भ्रमण वर्ष उद्घाटनका लागि जम्मा रु दुई करोड खर्च हुने संयोजक वैद्यले बताए । उद्घाटन समारोह हुने स्थल दशरथ रङ्गशाला सरकारले निःशुल्क उपलब्ध गराउने भएकाले उद्घाटन खर्च घट्नेछ । रङ्गशाला भाडामा लिनुपर्दा दैनिक रु १५ लाख पर्नेछ । दुई तीन दिनअघि नै तयारी गर्नुपर्ने जनाइएको छ । स्वीकृत बजेट बाहेक आवश्यक खर्चको कुनै समस्या नहुने सचिवालयले जनाएको छ । सरकारले हालै भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख बजेट स्वीकृत गरेको छ । -रासस


ताजा खबर