शोभा पाण्डेय/ सिलवाल
ऋतुराज वसन्तको, आगमन सँगै
सद्भावलाई लिई आयो, होली रङ्गरङ्गै ।
त्रेता द्वापर युगदेखि, मनाइएको होली
विकृति र विसङ्गति , मिस्यो आजभोलि ।
असत्यलाई सत्यले ,जित्यो जहिलेदेखि
खुसियाली मनाउन , थालियो तहिलेदेखि।
बाटो हिँड्ने बटुवालाई , नदेओ है दुःख
होलीको मर्म बुझौँ , दिऔँ सबलाई सुख ।
रङको चाड होली भन्थे, परापूर्वदेखि
तडकभडक अति भाछ , अहिले हेरौँ कति ?
प्लास्टिकमा फोहोर पानी, केमिकल कति
बाटो हिँडी साध्य छैन, फोहोर भा छ अति ।
कति ठाउँमा होली खेल्दा, ज्यानै पनि गाछ
प्रशासनले नियन्त्रणमा , लिन पर्ने भाछ ।
अत्यावश्यक कामले बाहिर, निस्कनलाई गाह्राे
छतबाट खसालेर पानी , रङको धारो ।
ढलै जाम हुने गरी फाले, प्लास्टिक बेलुन
बेथिति नै हुने गरी होली, चाहिँ नखेलुन् ।
प्रेमपूर्ण तरिकाले मनाऔँ, चाड होली
मेलमिलाप र भाइचारालाई, हृदय नै खोली ।
प्रतीकात्मक चाड होली ,विशेष हाम्रो पर्व
सौहार्द्रतापूर्ण बनोस् ,सबको बनोस् गर्व ।
होलीका सातै रङ्ग ,शुभ बनुन् सबमा
हृदयदेखि नै ,अतुल्य शुभकामना ,शुभकामना ।