प्रकाशराज पाण्डेद्वारा आकोन्कागुआको सफल आरोहण

नेपाली आरोही प्रकाशराज पाण्डेले ल्याटिन अमेरिकाको सर्वोच्च शिखर आकोन्कागुआको सफल आरोहण गर्नुभएको छ। आरोही  पाण्डेले फेब्रुअरी ६ मा उक्त हिमालको सफल आरोहण गर्नुभएको हो।

सातै महादेशका सातै उच्च शिखर आरोहणको दौडमा रहेका पाण्डेले स्थानीय समयअनुसार फेब्रुअरी ६ को बिहान ७ः५० मा उक्त हिमालको सफल आरोहण गर्नुभएको हो।

पाण्डेले नेपाली राष्ट्रिय झण्डा आकोन्कागुआमा फरफराउनुभएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय पहिले उहाँलाई नेपालको  राष्ट्रिय झन्डा हस्तान्तरण गर्नुभएको थियो।

यस अगाडि पाण्डेले एसिया, अफ्रिका तथा युरोपका सर्वोच्च शिखरहरूको सफल आरोहण गरिसक्नुभएको छ । गत जनवरी २१ मा उहाँ अर्जेन्टिनाको राजधानी व्युनर्स आयर्स पुग्नुभएको थियो। आफ्नो आरोहणले नेपाल र अर्जेन्टिनाको कूटनीतिक सम्बन्धमा न्यानोपना आउने पाण्डेले बताउनुभयो।

अबको योजना उत्तर अमेरिकाको सर्वोच्च शिखर देनालीको सफल आरोहण गर्ने रहने उहाँले जानकारी दिनुभयो । देनाली अमेरिकाको अलास्कामा रहेको हिमाल हो । यसलाई औपचारिक रूपमा माउन्ट मेकिन्ले भनिन्छ । रासस


ताजा खबर