बायोस्याण्ड फिल्टर : जसले पानीलाई सत प्रतिशत शुद्धिकरण गर्छ

”आधुनिकताको नाममा प्राकृतिक विधिलाई नभुलौ”

अहिले सजिलोको नाममा जताततै आधुनिक प्रविधिको मात्र खोजि हुदाँ प्राकृतिक र भरपर्दा परम्परागत वस्तु तथा प्रविधिहरु लोपहुने अवस्थामा रहेका छन् । आधुनिक विद्युतिय प्रविधि भन्दा कयौं गुणा राम्रो र सस्तो समेत हुँदा पनि प्राकृतिक विधिहरु खासै प्रयोगमा आउने गरेको देखिदैन । विलासिताले भड्किलो बन्दै गएको समाजमा महंगा प्रविधिहरु जडान गर्दा आफ्नो शान र इज्यत बढ्ने नकारात्मक सोचले डेरा जमाउदा स्वास्थ्यमा प्रत्यक्ष सरोकार भएका विषयमा समेत सम्वेदन शिलताको कमि भएको पाईएको छ । यस्ता विषयमा कयौं मानीस अहिले पनि अनविज्ञताका कारण पछि परेका छन् भने कयौंले थाहा भैकन पनि उचित ध्यान नपुर्याएको पाईन्छ ।
यस्तै एउटा प्रविधि खानेपानी शुद्धिकरण गर्ने बायोस्याण्ड फिल्टर, जसवाट जस्तो सुकै फोहर पानी पनि ९९.९९ प्रतिशत शुद्ध पार्न सकिन्छ । यो विधि अत्याधिक सस्तो, शुन्य सञ्चालन खर्च, विद्युत आवश्यक नपर्ने, पानी नास नहुने, एकपटक जडान गरे पछि ३०–४० वर्ष सम्मकालागि ढुक्क हुने प्राकृतिक विधि हो । उपयुक्त प्रवर्द्धनको अभावमा ओझेलमा परेको यस प्रविधि पछिल्लो समयमा भने चर्चामा रहेको देखिन्छ ।धेरै वर्ष अधिदेखी पानी प्रशोधन गर्न प्रयोग गरिएको “ स्लो स्याण्ड फिल्ट्रेशन” ( Slow Sand Filtration) प्रविधिको सिद्धान्तमा आधारित घरेलु स्तरमा पानी सुद्धिकरण गर्न सकिने “वायोस्याण्ड फिल्टर” क्यानडाका डा. डेभिट मेन्जले सन् १९९३ मा विकास गरेका हुन् । यो फिल्टर कंक्रिटको भाँडामा गिट्टी र बालुवाको तह मिलाएर राखी तालिम प्राप्त व्यक्तिले मात्र स्थानीय स्तरमानै बनाउन सकिन्छ । यस फिल्टरलाई विश्वव्यापी रुपमा क्यानडा स्थित Center for Affordable Water and Sanitation Technology (CAWST) संस्थाले प्रवर्धन गर्दै आएको छ । धेरै विकासोन्मुख देशहरुमा प्रयोगमा छन् । नेपालको विभिन्न जिल्लाहरुमा एनफो, CAWST ले विभिन्न संघ संस्था एवं स्थानीय उद्यमीहरुसंग समन्वय गरि वायोस्याण्ड फिल्टरको प्रवर्द्धन गर्दै आईरहेको छ ।

यस फिल्टरले पानीमा हुने पहेंलोपना ( आईरन ) हटाउँछ, धमिलोपना हटाउँछ, जिवाणुहरु हटाउँछ र फलामको किला प्रयोग गरी पानीमा हुने आर्सेनिक पनि हटाउन सकिन्छ ।
घरायसि प्रयोजनको लागि १ घण्टामा २६ लिटर पानी शुद्धिकरण गर्ने सानो फिल्टर र विद्यालय, कलकारखाना, होटल जस्ता धेरै पानी खपत हुने स्थानकालागि १ घण्टामा ३०० लिटर पानी फिल्टर गर्न सक्ने ठुलो फिटर गरि दुई प्रकारका बायोस्याण्ड फिल्टर अहिले वजारमा उपलब्ध छन् ।
यस फिल्टरका विशेषताहरुः
पानीमा भएको जीवाणुहरु, फलामको मिश्रण, धमिलोपना र गन्ध हटाउने साथै बायोस्याण्ड फिल्टरमा फलामको काँटी राखी पानीबाट आर्सेनिक हटाउन पनि प्रयोग गर्न सकिने ।
९९.९९ प्रतिशत सम्म जीवाणु हटाउन सक्दछ ।
प्रयोग तथा मर्मत सम्भार गर्न सजिलो
लामो समयसम्म टिकाउ हुने
पर्याप्त मात्रामा पानी फिल्टर हुने
अत्यन्त न्युन लागतमा जडान गर्न सकिने
जडान पछि शुन्य लागतमा सञ्चालन हुने
सफा गर्न अत्यन्त सजिलो

मानिसमा देखिने स्वास्थ्य समस्यामा पानीको अवस्थाले मुख्य भुविका खेलेको हुन्छ । धेरै जसो रोगहरु अशुद्ध पानीको प्रयोगबाट लाग्ने गरेको पाईन्छ । तसर्थ यस प्रकारको प्रकृतिक विधिको प्रयोग गरि पानीमा हुने नकारात्मक तत्वको नष्ट गरि प्रयोग गर्नु उपयुक्त हुने देखिन्छ । यो प्रकृतिक विधि भएकोले शरिरका लागि आवश्यक तत्वलाई नष्ट गर्ने खतरा अन्य विद्युतिय प्रविधिमा जस्तो यसमा नरहेको प्राविधिकहरुले वताउने गरेकाले पनि यो फिल्टर पानी शुद्धिकरणकालागि अत्यन्त महत्वपुर्ण रहेको पाइन्छ ।

के. आर. विजय,-सफल नेपाल


ताजा खबर