युवाहरू रोजगारका लागि बिदेसिने क्रम दिन प्रतिदिन बढिरहेको समयमा तीन बर्षअघि बिदेसिनुभएका खेमराज जोशी घर फर्किए लगत्तै च्याउ खेतीमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाका जोशीले अमरगढी नगरपालिका–२ मौरडामा च्याउ खेती गरिरहनुभएको छ । सुरुमा थुप्रै कठिनाइहरूको सामना गर्नुभएका जोशीले अहिले ९ वटा टनेलमा च्याउ खेती गर्दै आउनुभएको छ ।
उहाँका फार्ममा हरेक वर्ष २० हजार केजी च्याउ उत्पादन हुन्छ । प्रतिकेजी ४सय रुपैयाँसम्म च्याउ बिकी वितरण गर्दै आउनुभएका जोशीले उत्पादन गर्नुभएको च्याउहरू अहिले डडेल्धुरासम्म मात्र सीमित नभइ बैतडी, बझाङ, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा पनि निर्यात हुने गरेको छ ।
उहाँले अहिले च्याउ खानको लागि मात्र नभएर च्याउको बीउ समेत उत्पादन गर्न थाल्नुभएको छ, जसले आर्थिक क्षेत्र बलियो बनाउन सहयोग पुगेको उहाँ बताउनुहुन्छ ।
वार्षिक रुपमा २ सय ग्रामका ५० हजार प्याकेट च्याउको बिउ बिक्री गर्दै आउनुभएका जोशीले अहिले बिउबाट मात्रै वार्षिक १० लाखसम्म आम्दानी गरिरहनुभएको छ ।
‘कन्ये’ र ‘सिताके’ जातका च्याउहरू उत्पादन गरिरहनुभएका जोशीलाई कृषि ज्ञान केन्द्रले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आइरहेको छ । कृषि ज्ञान केन्द्रले दिने अनुदानले व्यवसाय गर्नलाई थप मद्दत पुगेको उहाँ बताउनुहुन्छ ।
जोशीजस्ता उद्यमीहरूले कृषि क्षेत्रमा गरेको योगदानले कृषिमा नयाँ दिशा र सम्भावना देखाउँछ । यद्यपि, कृषि क्षेत्रमा प्राविधिक सहयोग, सरकारी अनुदान र योजनाको आवश्यकता देखिन्छ ।
व्यावसायिक च्याउ खेती गरेर उदाहरणीय बन्नुभएका जोशी च्याउ खेतीमार्फत अन्य युवाहरूको लागि पनि प्रेरणा स्रोत हुनुहुन्छ ।
आफ्नै देशको माटोमा केही गरौँ भन्ने दृढताका साथ काम गरिरहनुभएका जोशी अहिले वार्षिक रुपमा खर्च कटाएर २० लाख रुपैयाँ जति बचत गर्ने गरेको बताउनुहुन्छ । रासस