वर्ष समिक्षा : निर्वाचन वर्षका रुपमा रह्यो वर्ष २०२४

वर्ष २०२४ निर्वाचन वर्षका रुपमा रह्यो । आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु हो । यस अर्थमा लोकतन्त्रका लागि पनि यो वर्ष महत्वपूर्ण रह्यो ।

विश्वका ६० भन्दा बढी देशका जनताले यो वर्ष मतदानमार्फत आफ्ना जनप्रतिनिधि छाने । उपभोग्य वस्तुको बढ्दो मूल्यबाट दिक्दार बनेका र सांस्कृतिक मुद्दाहरुमा विभाजित तथा राजनीतिक यथास्थितिप्रति आक्रोशित अधिकांश देशका मतदाताले आफ्नो मतमार्फत नैराश्यता प्रकट गरेको पाइन्छ । यो वर्ष सत्तासीनहरुका लागि कठिन रह्यो भने दक्षिणपन्थी लोकप्रियतावादीहरुको सत्तामा पुनरागमन वा बलियो धरातल निर्माण भयो । यथास्थितिवादी र परिवर्तनकारीबीच पनि यो वर्ष प्रतिस्पर्धा देखियो ।

वर्ष २०२४ को सबैभन्दा चर्चित निर्वाचन भने विश्वशक्ति राष्ट्र अमेरिकाकै रह्यो । सत्तासीन डेमोक्र्याट्सहरुले राष्ट्रपतीय निर्वाचनमा पराजय भोगे भने बहालवाला उपराष्ट्रपति कमला ह्यारिस रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डनल्ड ट्रम्पसँग पराजित हुनुभयो । अमेरिकी मात्र नभई विश्वकै जनता डनल्ड ट्रम्पको अभूतपूर्व राजनीतिक पुनरागमनको साक्षी बन्न पुगे । ट्रम्पको पार्टी रिपब्लिकनले संसद्का दुवै सदनमा बहुमत ल्यायो । अमेरिकामा सत्तासीन दलले पराजय भोग्नुपरेको यो निरन्तर तेस्रो राष्ट्रपतीय निर्वाचन थियो ।

अमेरिका उदारवादबाट अनुदारवादतर्फ ढल्किँदा बेलाययतमा भने ठीक विपरीत राजनीतिक शक्ति दक्षिणपन्थीबाट वामपन्थीतर्फ सर्‍यो । कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासनलाई अन्त्य गर्दै लेबर पार्टीले संसद्‍मा सर्वाधिक विजय हासिल गर्‍यो । सत्तासीन दलको सबैभन्दा नाटकीय पराजय भने दक्षिण अफ्रिकी देश बोत्स्वानामा देखियो । झन्डै ६० वर्षदेखि सत्तामा रहँदै आएको बोत्स्वाना डेमोक्र्याटिक पार्टीले पहिलो पटक सत्ता गुमायो ।

उता दक्षिण कोरियाका जनताले विपक्षी डेमोक्र्याटिक पार्टीलाई संसदमा बहुमत दिएर पिपुल पावर पार्टीका राष्ट्रपति यून सुक योललाई अप्ठेरो स्थितिमा धकेलिदिए । संसद्‍मा बहुमत नहुँदा बजेट पारित गराउन पनि यूनलाई धौधौ पर्‍यो भने त्यही झोंकमा ६ घण्टे ‘मार्शल ल’ लगाउनुभएका उहाँले अन्ततोगत्वा महाभियोग प्रस्तावबाट निलम्बित हुनुपर्‍यो ।

घाना, पनामा, पोर्चुगल, उरुग्वेलगायतका देशमा सत्तासीन दललाई पराजित गर्दै विपक्षी सत्तामा पुगे । नामिबियाले भने ३४ वर्षदेखि सत्तासीन स्वापो पार्टीलाई निरन्तरता दिँदै नेतुम्बो नन्दी नदैतवाहलाई देशको पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित गर्‍यो । तर मतदानको अवधि चार दिनसम्म लम्ब्याइएकाले निर्वाचनको वैधानिकता भने प्रश्न उठेको छ । मेक्सिकोले पनि क्लाउडिया सेन्बाउमलाई देशकै पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित गर्‍यो ।

भेनेजुएलामा सम्पन्न विवादास्पद निर्वाचनमा वर्तमान राष्ट्रपति निकोलस मदुरो लगातार तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । दक्षिण अफ्रिकामा रंगभेद अन्त्य भएको ३० वर्षमा पहिलो पटक अफ्रिकन नेशनल पार्टीले संसद्‍मा एकल बहुमत गुमायो । त्यस्तै जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र यसको गठबन्धन दल कोमेइतोले १५ वर्षमा पहिलो पटक संसद्‍मा बहुमत गुमायो ।

यस्तै फ्रान्समा संसद् भङ्ग गरी समय अगावै निर्वाचन गराउने राष्ट्रपति इम्यानुएल म्याक्रोंको निर्णयले ब्याक फायर गर्‍यो । वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्ट र दक्षिणपन्थी दल नेसनल र्‍यालीका सामू म्याक्रोंको मध्यमार्गी ‘इनसेम्बल’ गठबन्धन कमजोर सावित भयो । जसको परिणाम म्याक्रोंले नियुक्त गरेका प्रधानमन्त्री तीन महिनामै अविश्वासको प्रस्तावले फालिए । छिमेकी देश भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले निरन्तर तेस्रो कार्यकाल विजय प्राप्त गरे पनि संसद्‍मा एकल बहुमत भने गुमायो ।

श्रीलंकामा भएको निर्वाचनबाट वामपन्थी नेता अनुरा कुमारा दिशानायके राष्ट्रपति बन्नुभयो । समय अगावै गराइएको संसदीय निर्वाचनमा परम्परागत दललाई पछि पार्दै दिशानायकेको गठबन्धन नेसलन पिपुल्स पावरले दुई तिहाइभन्दा बढी सिटमा विजय हात पार्‍यो ।

उता बंगलादेशमा भएको विवादास्पद संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिग लगातार चौथो कार्यकालका निर्वाचित भयो । तर उनको यो खुसी ७ महिना पनि टिक्न सकेन । विद्यार्थी आन्दोलनका अगाडि घुँडा टेक्दै निर्वाचित राष्ट्रपति हसिना अगष्ट ५ मा देश छाडेर भारतमा शरण लिन बाध्य हुनुभयो । अर्को दक्षिण एसियाली देश पाकिस्तानको कुरा गर्दा ८ फेब्रुअरीमा भएको संसदीय निर्वाचनमा पूर्वप्रधानमन्त्री नवाज शरीफको दल पाकिस्तान मुस्लिम लिग एन सबैभन्दा ठूलो दल बन्यो ।

यद्यपि एकल बहुमत नहुँदा गठबन्धन सरकारको नेतृत्व गर्दै शहबाज शरीफ अहिले त्यहाँको प्रधानमन्त्री बन्नुभयो । पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमै राखेर र उहाँलाई चुनाव लड्न प्रतिबन्ध लगाइएका कारण यो चुनाव वैश्विक आलोचनाबाट मुक्त भएन । यो वर्ष भएका निर्वाचनमा सत्तासीन दलहरुले आफ्नो प्रभुत्व जोगाउन नसक्नुका केही कारण देखिएका छन् । बढ्दो मूल्यवृद्धि र आर्थिक चुनौती मूल कारकका रुपमा पाइएको छ ।

कतिपय देशमा भने सत्तासीन दल र जनप्रतिनिधिको कार्यशैलीप्रति नै जनतामा नैराश्यता देखिएको छ । परम्परागत दलप्रतिको नैराश्यताले युरोपका कतिपय देशमा दक्षिणपन्थी लोकप्रियतावादी दल राइटविंग पपुलिष्ट पार्टीहरुका लागि अवसर सिर्जना गरेको पाइन्छ ।

युरोपेली संसद्‍का लागि भएको निर्वाचनमा आप्रवासन विरोधी कडा नाराका साथ प्रचार गरेका राइटविंग पपुलिष्ट पार्टीले आफ्नो उपस्थिति बलियो बनाएका छन् । अल्टरनेटिभ फर जर्मनी राज्य स्तरीय निर्वाचन जित्ने दोस्रो विश्वयुद्ध यताकै पहिलो अति दक्षिणपन्थी राजनीतिक दल बन्न पुग्यो । पपुलिष्ट राजनीति कै कुरा गर्दा ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने ट्रम्पको अभियान रिपब्लिकन पार्टीभित्र मात्र नभई देशमै प्रभावशाली धार बन्न पुग्यो । समग्रमा भन्नुपर्दा यो वर्ष भएका चुनावले लोकतन्त्रलाई बलियो त बनायो नै सत्तासीन दलहरुलाई पनि गतिलो पाठ पढायो । रोयटर्स


ताजा खबर