“विपत्तिसँग जुध्न थप तयारी आवश्यक छ, यो हामी सबैका लागि चेतावनी हो।”
दुई दिन लगातार झरी पर्दा काठमाडौं उपत्यकामा नदी, खोलानाला र खहरे उर्लिएर आए। बाढीले नदी किनारसँगै आसपासका क्षेत्र डुबानमा परे। बाढी र डुबानमा परेर कैयौं घाइते भए।
सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा विपद्मा ज्यान जोगाउन घाइतेलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन तल्लीन भए। एम्बुलेन्स अलमलिंदा निजी गाडी, मोटरसाइकलमै राखेर पनि अस्पतालतिर दगुरिरहे। तर विपद्मा ज्यान जोगाउने अस्पताल नै डुबानमा पर्यो भने के होला?
देशकै राम्रोमध्ये मानिएको नेपाल मेडिसिटी अस्पताल भने आफैं डुबानमा पर्यो। अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामीलाई सार्नुपर्यो। अस्पताल कर्मचारी र बिरामीका आफन्तजनले तत्कालै मेडिसिटी अस्पतालमा उपचाररत बिरामीलाई अन्य अस्पतालमा सारे। “बाँच्नलाई अस्पताल भर्ना भएका थियौं, उल्टै अस्पतालबाट भाग्नुपर्यो,” एक बिरामीका आफन्तले भने।
ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालको भुइँतलामा आकस्मिक कक्ष र जनरल वार्ड छ। अझ अस्पताल नै नख्खु खोलाको छेउमा छ। अस्पताल रहेको ललितपुर महानगरपालिका-१८ का वडा सदस्य गोपाल डंगोल खोलाको बाटो छेकिएकाले यो अवस्था सिर्जना भएको बताउँछन्। “खोला मिचेर अस्पताल बनाइएको छ। हामीले जति भन्दा पनि कसैले सुन्दैन,” वडा सदस्य डंगोल भन्छन्, “खोलाको बाटो छेकेपछि बाढी त भित्र जाने नै भयो।”
असोज ११ गतेको नख्खु खोलामा आएको बाढी मेडिसिटी अस्पतालभित्र पस्यो। अस्पताल प्रांगण हुँदै आकस्मिक कक्ष र जनरल वार्ड पानीले भरिएको थियो। मेडिसिटी अस्पतालकी मिडिया कोअर्डिनेटर सरिता श्रेष्ठ ठूलो बाढी आएकाले समस्या भएको बताउँछिन्। “यति ठूलो बाढी आउँछ भनेर हामीले सोचेका थिएनौं,” श्रेष्ठ भन्छिन्, “हाम्रो प्राथमिकता बिरामीको सुरक्षा थियो। त्यसैले हामीले छिटो उनीहरूलाई अन्य अस्पतालहरूमा स्थानान्तरण गर्न सक्यौं।”
तत्कालै कर्मचारी र बिरामीका आफन्तले बिरामीको उद्धार गरेर ठूलो क्षति हुनबाट जोगाए। मेडिसिटी अस्पतालबाट सारिएका बिरामीको ग्रान्डी, मेडिकेयर र अन्य अस्पतालमा उपचार भइरहेको छ। यस घटनाले अस्पताल लगायत अत्यावश्यक संरचना कस्तो स्थानमा निर्माण हुनुपर्छ भन्ने बहस सिर्जना गरेको छ।
पूर्वाधार निर्माणमै प्रश्न
नख्खु खोलाको छेउमा बनेको मेडिसिटी अस्पतालको निर्माणमै प्रश्न गरिंदै आएको छ। अस्पताल जस्तो संरचना खोलाछेउमा बनाउन नहुने विज्ञहरूको मत छ। विपद् व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधार अस्पताल जस्ता महत्त्वपूर्ण संरचना कस्तो ठाउँमा बनाउने भनेर मापदण्ड बनाउनुपर्ने बताउँछन्। “बिरामी राख्ने ठाउँ पनि हचुवाका भरमा बनाउनु जोखिम निम्त्याउनु हो,” तुलाधर भन्छन्।
स्वास्थ्य संस्था विशेषगरी प्राकृतिक प्रकोपको सामना गर्न तयार पारिएका हुन्छन्। तर स्वास्थ्य संस्था नै जोखिमयुक्त ठाउँमा बनाउँदा थप समस्या उत्पन्न हुने विज्ञहरूको भनाइ छ। “काठमाडौं उपत्यका जस्ता जोखिमपूर्ण क्षेत्रमा बाढी, पहिरो र भूकम्पको खतरा जहिल्यै हुन्छ,” तुलाधर भन्छन्, “आकस्मिक कक्ष नै भुइँतलामा राख्नुले यस्ता जोखिमलाई ध्यानमा नलिएको स्पष्ट देखिन्छ।”
यससँगै अस्पताल निर्माण गर्दा बाढी नियन्त्रण प्रणालीलाई ध्यान नदिएको देखिएको उनी बताउँछन्। अन्तर्राष्ट्रिय स्तरको भनिएको अस्पतालमै यस्तो समस्या हुन दुःखद भएको तुलाधरको भनाइ छ। अब निर्माण हुने र निर्माण भइसकेका अत्यावश्यक संरचनाको सुरक्षामा ध्यान दिनुपर्ने उनको सुझाव छ।
भौतिक संरचना निर्माण गर्दा इन्जिनीयरिङसँगै जलवायु परिवर्तनको विषयमा पनि ख्याल राख्नुपर्ने वातावरणविद् बताउँछन्। पछिल्लो समय जलवायु परिवर्तनले प्राकृतिक प्रकोप बढ्दै गएका छन्। यस्ता घटना फेरि दोहोरिन सक्ने भएकाले जलवायु परिवर्तनलाई ध्यानमा राख्नुपर्ने जल व्यवस्थापन विज्ञ अजय दीक्षित बताउँछन्। “पानी पर्ने चक्र फेरिएको छ, यसलाई बुझेर अगाडि बढ्नुपर्छ,” दीक्षित भन्छन्।
जलवायु परिवर्तनले पानी पर्ने शैली फेरिएको छ। काठमाडौं लगायत देशका विभिन्न ठाउँमा जसरी पानी पर्यो र बाढी आयो, यसमा जलवायु परिवर्तन पनि एउटा कारण भएको दीक्षितको भनाइ छ।
वातावरण तथा जलवायु परिवर्तनको नीति तथा अर्थशास्त्रका जानकार अर्जुन ढकाल कसैले पनि यति धेरै पानी पर्छ भन्ने नसोचेको स्मरण गराउँछन्। काठमाडौंमा भौतिक पूर्वाधार बनाउँदा यति पानी पर्छ, यसरी बाढी आउँछ भन्ने नसोचिएको उनी बताउँछन्। “जलवायु परिवर्तनको हिसाबले हेर्दा यति जोखिम आउँछ भनेर सोचिएकै हुँदैन,” ढकाल भन्छन्, “अब बाटो, पुल, अस्पताल निर्माण गर्दा कस्तो ठाउँमा बनाउने भनेर पनि हेर्नुपर्छ।”
त्यस्तै, वातावरणविद् वर्षा लेखी पनि जलवायु परिवर्तनलाई गम्भीर रूपमा नलिंदा अहिलेको समस्या आएको बताउँछिन्। “जलवायु परिवर्तनको असर केवल तापक्रम बढ्नु मात्र होइन। बाढी, खडेरी र पहिरो पनि जलवायु परिवर्तनका प्रभाव हुन्,” लेखी भन्छिन्।
अस्पताल लगायत अत्यावश्यक संरचना बनाउँदा जलवायु परिवर्तनलाई ध्यान दिनुपर्ने उनको भनाइ छ। “नदी नजीक त अरू संरचना पनि बनाउने होइन, झन् अस्पताल त सुरक्षित ठाउँमा हुनुपर्ने हो,” लेखी भन्छिन्, “भौतिक पूर्वाधार बनाउँदा जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ।”
पूर्व तयारीको अभाव
मेडिसिटी अस्पतालको पूर्व तयारीमा पनि प्रश्न उठेको छ। अस्पतालले सुरक्षाका मापदण्ड अपनाएको नदेखिएको विज्ञहरू बताउँछन्। नेपालको विपद् व्यवस्थापन मापदण्ड अनुसार अस्पतालले प्राकृतिक प्रकोपका लागि आकस्मिक योजना बनाउनु अनिवार्य छ, जसमा बाढी र भूकम्प समेत समावेश हुन्छ। यसमा जोखिम मूल्यांकन, सुरक्षित निकास र संरचनात्मक सुधार पनि समावेश छन्। तर मेडिसिटी अस्पतालमा बाढी पसेपछिको अवस्थाले यी योजना प्रभावकारी नभएको देखाएको छ।
मेडिसिटी अस्पतालकी मिडिया कोअर्डिनेटर श्रेष्ठ विपद् तयारी योजनाबारे पुनर्मूल्यांकन गरिने बताउँछिन्। “अब हाम्रो विपद् तयारी योजना पुनर्मूल्यांकन गर्नेछौं र आगामी दिनमा अझ राम्रो तयारी गर्ने प्रयास गर्नेछौं,” श्रेष्ठ भन्छिन्।
मेडिसिटी अस्पतालमा भएको घटनाले आधुनिक संरचना पनि प्राकृतिक प्रकोपबाट अछुतो नरहने देखाएको विपद् व्यवस्थापन विज्ञ तुलाधर बनाउँछन्। “जलवायु परिवर्तन अब टाढाको खतरा रहेन, हाम्रो सामुन्ने छ। पूर्वाधार निर्माण गर्दा यो वास्तविकतालाई बुझ्नुपर्छ,” उनी भन्छन्, “विपत्तिसँग जुध्न थप तयारी आवश्यक छ, यो हामी सबैका लागि चेतावनी हो।” ~हिमाल खबरवाट