नेपालगन्ज भन्सारद्वारा लक्ष्यको ७३.६७ प्रतिशत राजस्व सङ्कलन

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा तोकिएको राजस्व सङ्कलन लक्ष्यको मात्र ७३ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन गरेको छ।

कार्यालयलाई साउन महिनाका लागि २ अर्ब ४ करोड १४ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो। तर, भन्सार कार्यालयले जम्मा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार रुपैयाँ मात्रै सङ्कलन गर्न सफल भएको छ।

लगातार तीन वर्षदेखि राजस्व सङ्कलन लक्ष्य प्राप्त गर्न असफल भएपछि भन्सार विभागले चालु आर्थिक वर्षका लागि करिब डेढ अर्ब रुपैयाँ घटाएर २७ अर्ब २० करोड रुपैयाँको लक्ष्य निर्धारण गरेको थियो। यद्यपि, घटाइएको यो लक्ष्य समेत आर्थिक वर्षको पहिलो महिनामा पूरा हुन सकेन।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार, आर्थिक मन्दीका कारण आयात कम हुनुले राजस्व असुलीमा असर परेको छ। साथै, सरकारका विभिन्न नीतिगत समस्याका कारण पनि लक्ष्य पूरा गर्न कठिनाइ भएको बताइएको छ।

भन्सार कार्यालयले नाका हुँदै आउने आयात खुम्चिँदा लक्ष्य भेट्न मुस्किल भइरहेको जनाएको छ। यद्यपि, यस वर्ष नेपालगन्जमा एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएसँगै एकद्वार प्रणालीबाट आयात-निर्यात गर्न सहज भएको छ।

यसले व्यवसायका साथै कार्यालय व्यवस्थापनमा पनि सुधार ल्याएको हुँदा चालु आर्थिक वर्षको लक्ष्य पूरा हुने आशा कार्यालयले राखेको छ। रासस


ताजा खबर