सरकार ! म बच्चा जन्माउन सक्दिनँ

~शोभा पाण्डेय/ सिलवाल

सरकार !

किन बच्चा जन्माउने ?

बिसदेखि तीस वर्षभित्र ?
म अझै बुबाआमाकै बोझ छु ।
तिम्रा निकम्मा शैक्षिक केन्द्रले नि,
बेरोजगार बनाएर सडक डुल्नी ,
साँढे बनाएर  डामी छाडेको छ ।
म अझै बाबुआमाका बूढो हड्डीमाथि ,
तिम्रा सहजताका लागि ,
सन्तान रूपी
भार थपी थङथिलो पार्न,
मेरो नैतिकताले दिँदैन ।
त्यसैले सरकार !
म किन बच्चा जन्माऊँ?
फेरि ,
अहिलेसम्म जन्मिसकेका,
नागरिकलाई तिमीले के गर्यौ?
गाँसबास र कपासको ,
सुनिश्चितता दियौ?
कि ,
स्वास्थ्य र शिक्षामा निःशुल्क गर्यौ?
रोजगार दिन कति उद्योग खोल्यौ?
फेहरिस्त पेश गर त,
अनि पाइदिउँला बच्चा ,
होइन  भने
म मेरो बच्चालाई,
मैले जस्तै अभाव र दबाबमा बाँच्न , किन जन्माउने ?
अनागरिक बनाउन?
त्यसैले सरकार
बरू चौबिसै घण्टा काम गर् ,
भन हाँसीहाँसी गर्छु
तर मर्छु ।
बच्चा जन्माउँदिनँ
किनभने
मेरो देशमा बच्चा ,
जन्माएका आमाहरू
सन्तानबाट बिछोडिनुको पीडाले
तड्पेको देख्छु ।
झन् मुटु निचोरिएर आउँछ ।
गाउँ सहर खाली देख्छु
सहरका सटर बन्द ,
उद्योग जीर्ण ,व्यापार मन्द,
मेरै पेट खाली
अनि खाली पेटमा रोगी बच्चा
किन जन्माउने?
अतः
म त बच्चा नजन्माउने ।
अँ साँच्चै ,
म न मैले चाहेर जन्मेँँ
न म जन्मेर भरपेट
खाना र नानाको
उपभोग गर्ने पाएँ अवसर
तसर्थ सरकार
बच्चा नजन्माउने।
तिमीले मेरा बुबाआमाका
पालादेखि दिएकोआश्वासनले
मेरो पुस्ता त
पानी विनाको माछाजस्तो
बनेर
छटपटाएर बाँच्नु परेको छ भने
म,मेरो बच्चालाई
म जस्तै
बाँच्नैका लागि पनि
रोग ,शोक र भोकसँग
रुँदै सङ्घर्ष गरेको हेर्न जन्माऊँ?
अँह ! म सक्दिनँ ।
सरकार !
यदि जन्माउनेैै पर्ने भए बच्चा,
भाषण गर्दा उर्दी नदेऊ ।
सुशासन गर ।
नेपाली भएर जन्मेकालाई
भुटानी नबनाऊ ।
स्वदेशमै रोजगार सिर्जना गर ।
तिमीले भन्नै पर्दैन ,
जब म आफू हरेक
दृष्टिले सुरक्षित भएको अनुभव गर्छु
नि तब सोच्छु ।
नत्र बच्चा जन्माएर ,
दोबाटोको बुर्की आफ्ना
सन्तानलाई म बनाउन सक्दिनँ ।
यति मात्र होइन ,
सरकार !
तिमीलाई  त जनताको पेटमा
लात्ती हान्ने आदि परेको छ।
तर मलाई मेरो स्वाभिमानले
त्यसो गर्न दिँदैन ।
असह्य पीडा सहेर जन्माई
हुर्काएको मुटुको टुक्रालाई
विदेशीको दास बनाउनु छैन ।
अरू त अरू
तिमीहरूले लगाएको कुयज्ञको
पुरोडाश बनाउनु छैन
अनि
वलिको बोको पनि बनाउनु छैन
बरू नजन्मियोस् ।
म निसन्तान नै बनूँ ।
म सहन्छु ।
 तर
मैले किन जन्माएको भन्ने
प्रश्नको उत्तर त दिनुपर्ने छैन
अन्तमा नि सरकार
त्यसैले
म अहिले बच्चा जन्माउन सक्दिनँ

ताजा खबर