नेपालगञ्ज नाकाबाट गत आवमा सात अर्बभन्दा बढीको खाद्यान्न आयात

नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा सात अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।
भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आवमा आयात भएको खाद्यान्न (चामल, मकै, गहुँ र धान ) अघिल्लो आव २०७९/०८०का तुलनामा करिब ५० करोडले बढी मूल्यको हो।

गत आवमा चामल मात्रै चार अर्ब १२ करोड २६ लाख ६९ हजारको तीन लाख ३ हजार ३४० क्विन्टल आयात भएको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माको जानकारी दिनुभयो । यसबाट ४७ करोड २७ लाख २२ हजार राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आव २०७९/०८० मा चार अर्ब ७३ करोड ६० लाख ११ हजारको ४७ हजार ३६० क्विन्टल चामल आयात भएको थियो । आव २०७९/८०माभन्दा आव २०८०/८१ मा चामल आयातमा मूल्यमा कमी आए पनि परिमाणमा वृद्धि भएको छ ।

यसैगरी, आर्थिक वर्ष २०८०/०८१ मा दुई अर्ब चार करोड १८ लाख १५ हजारको मकै भारतबाट आयात भएको छ । आव २०७९/८० मा दुई अर्ब ९ करोड ९९ लाख ९५ हजारको मकै आयात भएको थियो ।

गत आवमा ८४ करोड ९१ लख ९३ हजारको गहुँ आयात भएको छ । आव २०७९/८० मा ११ करोड ४१ लख ८८ हजारको मात्रै गहुँ आयात भएको थियो ।

नेपालगञ्ज भन्सार कार्यालयबाट गत आवमा ५३ करोड ४१ लख ८७ हजारको धान आयात भएको छ । आव २०७९/८० मा १५ करोड ६१ लाख ८७ हजारको धान आयात भएको थियो । रासस


ताजा खबर