तरकारीको बजारभाउ: दशैँको मुखमा महँगीको मार

प्रत्येक वर्ष चाडबाड आएसँगै महँगी बढेको गुनासो उपभोक्ताहरूको हुने गर्छ।

सरकारले चाडबाडको मुखमा सुपथ मूल्यका बजार राख्ने भए पनि त्यसबाट लक्षित वर्ग लाभान्वित हुन नसकेको बताइन्छ।

तरकारीजस्ता भान्छामा दैनिक चाहिने सामानको भाउ खासगरी दशैँ र तिहारजस्ता चाडमै महँगो हुने गरेको अनुभव उपभोक्ताहरूको छ।

विदेशमा चाडबाडका बेला सामानमा भारी छुट दिने गरिए पनि नेपालमा चाहिँ त्यसको ठ्याक्कै उल्टो हुने गरेको देखिन्छ।

आमउपभोक्ताबाट पछिल्लो समय खासगरी तरकारीको भाउ आकाशिएको गुनासो आइरहेका बेला हामीले काठमाण्डूका केही महिलाहरूसँग त्यसबारे उनीहरूको प्रतिक्रिया लिएका छौँ।

विमला घिमिरे, बागडोल

भाउ त एकदमै आकाशिएको छ। प्याज नै डेढ सय रुपैयाँ पुगेको छ। सर्वसाधारणलाई त मर्का नै पर्नेगरी भाउ महँगिएको छ।

दशैँको मुखमा आएर सबै सामानको भाउ बढिरहेको छ। सर्वसाधारण नै त हो मर्ने।

कर्मचारीहरूको त तलब पनि बढेको छ। अहिलेको सरकार नै त्यस्तै हो कि जस्तो लाग्छ। खै के ले हो यति धेरै महँगी बढेको? सरकारको अनुगमनले पनि खासै प्रभाव परेजस्तो लाग्दैन।

 

दिलमाया मानन्धर, अनामनगर

धेरै गाह्रो छ। तरकारीदेखि सबैको भाउ बढेको छ। आज कमाएर भोलि खानुपर्नेलाई निकै गाह्रो छ।

बन्दा किने पनि भ्यान्टा किने पनि जे पनि महँगो छ। ठाउँठाउँमा बाटो बिग्रेर गाउँमा उत्पादित तरकारीहरू शहर आउन पाएको छैन।

त्यसले गर्दा गाउँका किसान र शहरका उपभोक्ता मारमा छौँ। बीचका व्यापारीलाई त खासै फरक पर्दैन।

 

 


ताजा खबर