अस्पतालको शय्याको विवरण वेबसाइटमा अध्यावधिक निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिक रुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्य रुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री बस्नेतले सङ्घीय अस्पतालले सामान्य र आकस्मिक शय्यामा भर्ना भएका र रिक्त शय्याको सङ्ख्या वेबसाइटमा दैनिकरुपमा अध्यावधिक गर्न निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “ठूलो पदमा भएका वा पहुँच भएकाले तत्कालै सहजै शय्या पाउने तर पहुँच नभएका बिरामीले नपाउने अवस्था छ । काठमाडौँमा अस्पतालको शय्याको खोजीमा हिँड्दा हिँड्दाहिँड्दै बिरामी मृत्युसम्म हुने गरेको छ”, उहाँले भन्नुभयो, “सबै बिरामीको पहुँच र समय व्यवस्थापनका लागि अस्पतालले सात दिनभित्र अनिवार्यरुपमा शय्यामा भर्ना र रिक्त सङ्ख्याबारे वेबसाइटमा जानकारी राख्नुपर्छ ।”

अस्पतालमा भीड व्यवस्थापन र सहजीकरणका लागि सङ्घीय अस्पतालमा बहिरङ्ग सेवामा अनलाइन टिकटको व्यवस्था १५ दिनभित्र गर्न निर्देशन दिनुभएको छ । मन्त्री बस्नेतले वैदेशिक भ्रमणलाई वैज्ञानिक र व्यवस्थित बनाउन निर्देशन  दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षभित्र भ्रमण भएका कर्मचारीको नामावली, सहयोगी निकाय र भ्रमणको उपलब्धिबारे विवरण माग गर्नुभयो । “विदेश भ्रमण मन्त्रालयमा रोगका रुपमा देखिएको छ । दुर्गममा खटिएका व्यक्ति कहिले अवसर नपाउने तर विषय विज्ञका नाममा पटक–पटक विदेश भ्रमणमा जाने देखिएको छ”, उहाँले भन्नुभयो ।

सकेसम्म वैदेशिक भ्रमण कम गर्ने र जानै परे औचित्य पुष्टि गरेर मात्र स्वीकृत दिने उहाँको भनाइ छ । मन्त्री बस्नेतले मन्त्रिस्तरीय निर्णयअनुसार गठित अस्पताल उपकरण व्यवस्थापनसम्बन्धी अनुगमन समितिको निष्कर्षका आधारमा समेत निर्देशन दिनुभयो ।

दुई वर्षसम्म प्रयोग नभएका वा हुन नसकेका स्वास्थ्य सामग्री र उपकरण फिर्ता लिने र आवश्यकताअनुसार अन्य अस्पतालमा वितरण गर्न उहाँको निर्देशन छ ।

जनशक्ति र स्थान नभएका अस्पतालका लागि उपकरण खरिद गरेकाबारे स्पष्टीकरण सोध्ने, अस्पताललाई दुई वर्षको कार्ययोजना बनाएर पेस गर्न लगाउने र सबै सङ्घीय अस्पतालको उपकरण परीक्षण गर्न उहाँको निर्देशन छ ।  रासस


ताजा खबर