प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलमा नेपालको जित

राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री कप त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

blog

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । अनन्तले खेलको पहिलो हाफमा गोल गरे भने नवयुगले खेलको दोस्रो हाफमा एक गोल थपे । खेलको ३०औँ मिनेटमा अनन्तले नवीन लामाको पासमा हेडमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए ।

अनन्त र नवयुगको गोलमा नेपाल विजयी

त्यसपछि खेलको ५६औँ मिनेटमा नवयुगले गोल गरे । उनले करिब ३५ र्‍याडबाट प्रहार गरेको बलले सिधै जाली चुमेपछि नेपालको अग्रता दोब्बर बन्यो । त्यसपछि खेलमा गोल हुनसकेन र नेपालले लाओसविरुद्ध २–० को सहज जित हासिल गर्‍यो । खेलमा नेपालका अनन्त तामाङ म्याच अफ द म्याच घोषित भए ।

प्रतियोगितामा आयोजक नेपालसहित भूटान र लाओस गरी तीन राष्ट्र सहभागी छन् । यही चैत १७ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले तीन हजार अमेरिकी डलर पाउनेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले २५० डलर पाउने छन् ।

उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफनो दोस्रो खेल यही चैत १४ गते भुटानसँग खेल्नेछ । त्यसअघि लाओस र भुटानले यही चैत ११ गते खेल्नेछन् । 

रासस


ताजा खबर