कीर्तिमानी जितसँगै नेपालको एक दिवसीय मान्यता कायमै

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउँदै नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ ।

घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराउँदै नेपालले एक दिवसीय मान्यता कायमै राखेको हो । यो जितसँगै नेपालले थप चार वर्षका लागि एक दिवसीय मान्यता सुरक्षित राखेको हो ।

नेपालले सन् २०१८ मा पहिलो पटक क्रिकेटमा एक दिवसीय मान्यता पाएको थियो । हाल जारी लिग–२ को शीर्ष पाँच स्थानसम्म कायमै रहने राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एक दिवसीय मान्यता दिने प्रावधान छ ।

आजको जितसँगै नेपाल सात राष्ट्र सम्मिलित लिग–२ को चौथो स्थानमा उक्लेको छ । नेपालले लिग–२ मा अब दुई खेल खेल्न बाँकी छ । जारी शृङ्खलामा हालसम्म नेपालले ३४ खेलबाट ३६ अङ्क जोडेको छ । युएईले समान खेलमा ३१ अङ्क बनाएको छ । युएई लि–२ को छैटौँ स्थानमा छ ।

उसले पनि अब दुई खेल्न बाँकी छ । यस्तै पपुवा न्युगिनी लिग–२ को पुछारमा छ । लिग–२ का यी तीन राष्ट्रसँगै स्कटल्याण्ड, ओमान, नामिबिया र अमेरिका समेत रहेका छन् ।


ताजा खबर