बैङ्कको ऋण नतिर्ने हल्लाको पछि नलाग्न आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैङ्कबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६४ औँ साधारण सभाको आज भैरहवामा उद्घाटन गर्दै उहाँले केही समययता बैङ्कको ऋण नतिर्ने जस्ता विषयमा हल्ला सुरु भएका र यसबाट अराजकता सिर्जना हुने भन्दै त्यस्ता हल्लाको पछि कोही पनि व्यवसायी लाग्न नहुने धारणा राख्नुभयो ।

उहाँले बैङ्कको ब्याजदर ‘सिङ्गल डिजिट’ हुनुपर्ने पक्षमा आफू रहेको भन्दै यदि त्यसो भएमा धेरै व्यवसायीलाई राहत हुने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले देशको अर्थतन्त्रको अवस्था हेरेर व्यवसायीहरूले धैर्य धारण गर्नुपर्ने बेला आएको पनि बताउनुभयो । उहाँले उद्योग व्यवसायमा धैर्य धेरै चाहिने र यसबाट मात्र व्यावसायिक सफलता हात लाग्ने उहाँले सुझाव दिनुभयो ।

उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, पूर्व अध्यक्ष ओमकार गौचन र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले मुलुकको अर्थतन्त्र डगमगाएको अवस्था देखिएकाले सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँहरूले सरकारले बजेट व्यक्तव्यमा उल्लेख गरेका उत्पादनमूलक व्यवसायलाई अन्य उद्योगभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्ने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो ।


ताजा खबर