इयू र जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने

युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तर्राष्ट्रिय समूह जी सेभनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पूरा भएको सन्दर्भमा सो समूहका मन्त्रीहरूको बैठकमा नयाँ प्रतिबन्धबारे छलफल भएको हो ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेको अन्तर सरकारी मञ्च जी-सेभनका मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निश्कर्षमा पुगेका हुन् ।

भारतको बेङलुरुमा जी-सेभेनका अर्थमन्त्रीबीच भएको बैठकमा पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा विचारविमर्श भएको थियो ।

यसैबीच संयुक्त राष्ट्र संघीय महासभाले युक्रेनमा जारी रुसी आक्रमणको निन्दा गर्ने प्रस्तावलाई बहुमतले अनुमोदन गरेको छ । साथै युक्रेनबाट सेना फिर्ता गर्न र युद्ध रोक्न आह्वान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्‍मा भएको मतदानमा प्रस्तावको पक्षमा १ सय ४१ राष्ट्रले मतदान गरेका छन् । ३२ राष्ट्र मतदानमा सहभागी भएनन् भने रुस सहित सात राष्ट्रले विपक्षमा मतदान गरेका छन् ।

एक वर्ष लामो द्वन्द्वमा एक लाख ५० हजार युक्रेनी र त्यति नै सङ्ख्यामा रुसीको ज्यान गएको पश्चिमा सूत्रहरूले बताएका छन् । युक्रेनप्रति ऐक्यबद्धता जनाउन अमेरिकासहित पश्चिमा देशका उच्च अधिकारीले युक्रेनको राजधानी किभको भ्रमण गरेका छन् । रोयटर्स


ताजा खबर