नेपाल-भारतवीच विद्युत व्यापार प्रवर्द्धनमा महत्वपूर्ण निर्णय

नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण निर्णय गरेको छ ।

नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालकाय सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको विद्युत मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षतामा शनिबार भारतको राजस्थानस्थित माउन्ट आबुमा बैठक भएको थियो ।

बैठकमा अन्तरदेशीय विद्युत व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई अगाडि बढाउने निर्णय भएको छ । बैठकअघि शुक्रबार सम्पन्न दुई देशबीचका सहसचिवस्तरीय संयुक्त कार्यदलले गरेको सिफारिसमाथि छलफल भएको थियो ।

विद्युत् उत्पादन, प्रसारण र व्यापारका लागि संयुक्त निर्देशक समितिको बैठक कोशेढुंगा भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भएको छ ।

बैठकमा सहभागी कार्यकारी निर्देशक घिसिङले नेपालले भारतको प्रसारण ग्रिडको प्रयोग गरी बंगलादेश विद्युत निर्यातका लागि राखेको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लिंदै निर्यात गरिने जलविद्युत आयोजनाको नाम पठाएपछि आवश्यक सहमति दिने निर्णय भएको जानकारी दिनु भयो ।

नेपालबाट दीर्घकालीन रुपमा विद्युत् निर्यातका लागि प्रस्ताव गरिएकोमा भारतीय पक्षले यसलाई सकारात्मक रुपमा लिंदै प्रस्ताव प्राप्त भएपछि जाँच गरी आवश्यक निर्णय लिइने जानकारी गराएको पनि उ‍हाँले बताउनु भयो ।

बैठकले टनकपुरबाट नेपालले विद्युत आयात मात्र गर्दै आएकोमा अब निर्यात पनि गर्न पाउने निर्णय गरेको छ । ‘यसबाट सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका जलविद्युत आयोजनाको विद्युत बर्खाको समयमा भारतको केन्द्रीय प्रसारण प्रणालीमा निर्यातका लागि बाटो खुलेको छ ।

नेपालले १३२ केभी तथा त्यसभन्दा कम क्षमताका प्रसारण लाइनमार्फत भारतीय बजारमा विद्युत् निर्यातका लागि राखेको प्रस्तावमा भारतले प्रस्ताव अन्तरराज्य प्रणाली कारोबारको भएको र प्रसारण शुल्क, चुहावट आदि विषय रहेकोले केन्द्रीय विद्युत प्राधिकरणले भारतका निकायहरुसँगको समन्यमा टुङ्गो लगाउने निर्णय भएको छ । रासस


ताजा खबर