आज सातौँ निर्वाचन दिवस मनाइदै

सातौँ निर्वाचन दिवस आज मनाइदै छ । विक्रम संवत् २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज निर्वाचन दिवस मनाउने गरिन्छ ।

यो वर्ष निर्वाचन आयोग तथा आम मतदाताका लागि पनि विशेष वर्षको रूपमा रहेकाले सातौँ निर्वाचन दिवस पनि विशेष र अविष्मरणीय रहन गएको छ ।

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गरी स्थानीय तह निर्वाचन वैशाख ३० गते र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन मङ्सिर ४ गते मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।

यही फागुन २५ र चैत ३ मा हुने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नेपालको संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि सबै आवधिक निर्वाचनहरू पूरा हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने सातौँ निर्वाचन दिवसका नारालाई सार्थक बनाउन सबैको निरन्तर सहयोग, साझेदारी, सहकार्य र समन्वय अझ मजबुत हुनेछ भन्ने विश्वास लिएको छ ।


ताजा खबर