त्रिकोणात्मक एक दिवसीयमा नेपाल विजयी

आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा आज भएको पहिलो खेलमा नेपाल नामिबियालाई दुई विकेटले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले नेपाललाई जितका लागि २८६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव ४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले सर्वाधिक ११५ रनको योगदान दिए । ११३ बल खेल्दै उनले दश चौका र चार छक्काको मद्दतमा ११५ रनको योगदान दिएका हुन । भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पहिलो पटक शतक प्रहार गरे । यसअघि एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले सर्वाधिक ८४ रन बनाएका थिए ।

त्यसैगरी कप्तान रोहित पौडेलले ७२ रन बनाए भने सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्ले २५, करण केसीले २०, कुशल मल्लले ६ तथा सोमपाल कामीले ४ रन जोडे । बलिङतर्फ नामिबियाका रुवेन ट्रम्पेलम्यान र जान निकोलले समान तीन/तीन विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रनको योगफल बनाएको थियो ।

जितसँगै नेपालले २५ खेलमा २० अङ्क जोडेको छ । उक्त सिरिजअन्तर्गत अब नेपालले यही फागुन ५ गते स्कटल्याण्डसँग खेल्नेछ । रासस


ताजा खबर