सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने जनाएको छ ।

मन्त्रालयले सङ्घ र प्रदेशअन्तर्गतका अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्य डिजिटल प्रणालीमार्फत गर्ने गरी इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्ने कार्ययोजनामा उल्लेख गरेको छ ।

यस्तै सङ्घअन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा एकरूपता कायम गर्न स्वास्थ्य सेवा शुल्क निर्धारण समितिले अस्पतालहरूबाट प्रदान गरिने सेवा शुल्कको सूची तयार गर्नेछ ।

यसरी तयार गरिएकामा सेवा शुल्क सूची मन्त्रालयबाट स्वीकृत गरी कार्यान्वयन गरिने छ । यस्तै एक चिकित्सक एक स्वास्थ्यकर्मी कार्यक्रम पनि अघि सारिने छ ।

वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालमा सो कार्यक्रम लागू गरिनेछ । यी अस्पतालमा यसै महिनादेखि एक चिकित्सक एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने तयारी गरिंदैछ ।-रासस


ताजा खबर