राजन रोकायालाई प्रधानसेनापति म्याराथन उपाधि

प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् ।

जङ्गी अड्डा भद्रकालीमा शनिबार भएको म्याराथनमा राजनले निर्धारित दुरी २ घण्टा २० मिनेट ०८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन । उपाधिसँगै राजनले ३ लाख नगद पुरस्कार र यामाहाको मोटरसाइकल प्राप्त गरेका छन् ।

आर्मीकै खडक बहादुर खड्काले २ घण्टा २१ मिनेट ४३ सेकेन्डको समय पूरा गर्दै दोस्रो र आर्मीका कृष्ण बहादुर बस्नेतले २ घण्टा २२ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो भएका खड्काले २ लाख र तेस्रो भएका कृष्णले १ लाख प्राप्त गरेका छन् ।

यस्तै हाफ म्याराथनको महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई र पुरुषमा आर्मीका दीपक अधिकारीले उपाधि जितेका छन् । महिलातर्फ आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र आर्मीकै निर्मला केसीले तेस्रो स्थान हासिल गरेकी छिन ।

यस्तै हाफ म्याराथनको पुरुषतर्फ आर्मीका दीपक अधिकारीले उपाधि जितेका छन् भने आर्मीकै मुकेश पाल दोस्रो र तीर्थ पुन तेस्रो भएका छन् ।

हाफ म्याराथन पुरुष र महिला दुवैतर्फ विजेताले समान ७५ हजार, दोस्राले ५० हजार र तेस्राले ३५ हजार प्राप्त गरे । महिलाको विजेताले इलेक्ट्रिक स्कुटर पनि प्राप्त गरेका छन् ।

यसैगरी सैनिक अधिकृत १० किलो मिटर दौडको पुरुषमा सुरज ऐडी पहिलो, विशाल चन्द्र वाजी दोस्रो र जिलेस्पी जङ्ग कार्की तेस्रो भएका छन् ।

यसै स्पर्धाको महिलातर्फ अस्मिता जिसी पहिलो, दुर्गा केसी दोस्रो र गीता गुरुङ तेस्रो भएकी छिन ।

नेपाली सेनाले महाशिवरात्रि र सेना दिवसको अवसरमा म्याराथन प्रतियोगिता आयोजना गरेको हो ।


ताजा खबर