त्रि–चन्द्र क्याम्पसको पुनर्निर्माण शुरु

मुलुकको पहिलो उच्च शिक्षण संस्था त्रि–चन्द्र क्याम्पसको पुनर्निर्माण थालिएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण भएको क्याम्पस भवन २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको थियो । दक्षिणतर्फको भाग काम नै नलाग्ने भए पनि उत्तरतर्फका कक्षाकोठामा जोखिम मोलेर पठनपाठन हुँदै आएको थियो ।

सहरी तथा भवन निर्माण विभागले क्याम्पसको दक्षिणतर्फको भवनको पुनर्निर्माण गरिदिन लागेको हो । क्याम्पस प्रमुख प्रा.डा. सुनील अधिकारीका अनुसार दुई वर्षभित्र भवन निर्माणको सम्पूर्ण काम सकिनेछ ।

“क्याम्पसको भवन पुनर्निर्माणका लागि विगतमा प्रधानमन्त्री, मन्त्री तथा अन्य निकायका प्रमुखसँग धेरै अनुरोध ग-यौँ । लामो समयको प्रयासपछि पुनर्निर्माण सुरु भएको छ । सुरक्षित भवन बन्ने भएपछि खुसी लागेको छ,” उहाँले भन्नुभयो । पुरानो भवनको केही भाग पूर्ण रूपमा नयाँ निर्माण हुनेछ भने केही भाग प्रबलीकरण (रेक्ट्रोफिटिङ) गरी सुरक्षित तुल्याइनेछ ।

भवन पुनर्निर्माणका लागि विभागले ५१ करोड रुपियाँ विनियोजन गरेको छ तर टेन्डर आह्वान हुँदा ठेकेदार कम्पनीले ३४ करोड रुपियाँमै पुनर्निर्माणको कार्य सम्पन्न गर्ने गरी सकारेको छ ।

नयाँ भवनमा सम्भव भएसम्म त्यहीँकै इँटा तथा काठको प्रयोग गरिनेछ । जीर्ण रहेको भवन पुनर्निर्माण भएपछि घण्टाघरमा नयाँ घडी राखिनेछ । त्यहाँ अहिले दम दिनुपर्ने घडी छ ।

क्याम्पस प्रमुख डा. अधिकारीले नयाँ संरचना बनेपछि दम दिनुपर्ने पुरानो घडीलाई त्यही सङ्ग्रहालय निर्माण गरेर सुरक्षित राखिने र नयाँ स्वचालित घडी जडान गरिने जानकारी दिनुभयो । भवन पुनर्निर्माण सुरु भएसँगै पुरानो भवनका कक्षालाई रानीपोखरीतर्फको भवनमा सारिएको छ । कक्षाकोठा अभाव भएपछि सरस्वती सदन नजिक प्रिफ्याबका दुईवटा अस्थायी संरचना बनाउन लागिएको छ ।

हाल पुनर्निर्माण कार्य थालिएको भवनको पछाडिको खाली जग्गामा पनि अर्को आधुनिक भवन निर्माण गरिने भएको छ । पाँच रोपनी क्षेत्रफल रहेको उक्त जग्गामा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सीएलपीआईयू)ले अङ्ग्रेजीको ‘एल’ आकारको अत्याधुनिक भवन निर्माण गरिदिने भएको छ । उहाँले करिब ८० करोड रुपियाँमा उक्त भवन निर्माण हुने जानकारी दिनुभयो ।

पुनर्निर्माण सुरु भएको ऐतिहासिक भवनको उद्घाटन १९७६ साल असोज २७ गते गरिएको थियो । तत्कालीन राजा त्रिभुवनले चाँदीको ताल्चालाई चाँदीको साँचोले खोलेर भवन उद्घाटन गर्नुभएको थियो । भवन उद्घाटनका दिन तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई खोकी लागेकाले उहाँको लिखित सम्बोधन तत्कालीन बडाकाजी मरिचिमान सिंहले पढेर सुनाउनुभएको थियो ।

सो भवन निर्माण हुनुअघि त्यहाँ घण्टाघर र वीर पुस्तकालय थियो । ती दुवै संरचनासँग जोडेर त्रि–चन्द्र क्याम्पस भवन निर्माण गरिएको थियो । त्यति बेला सो भवन ७० हजार रुपियाँमा निर्माण गरिएको थियो ।

यसैबीच काठमाडौँ महानगरपालिकाले बागबजार, दरबारमार्ग वरपरका स्थानमा पार्किङ निषेध गरेपछि स्थानीयले त्रि–चन्द्र क्याम्पस परिसरमा मोटरसाइकल पार्किङ गर्ने गरेको पाइएको छ । क्याम्पसको सरस्वती सदनको अगाडि रहेको खाली जग्गामा दिउँसो पार्किङ स्थान नै खाली रहँदैन । जब कि विगतमा यो स्थानमा त्यति धेरै मोटरसाइकल पार्किङ गरिँदैन थियो । क्याम्पस परिसर भएकाले सिधै मोटरसाइकल त्यहाँभित्र लैजाने र दिनभर पार्किङ गर्ने गरिएको क्याम्पसका विद्यार्थी तथा शिक्षकहरूको गुनासो छ तर क्याम्पस प्रमुख डा. अधिकारीले स्थानीयले मोटरसाइकल पार्क नगरेको दाबी गर्नुभयो ।


ताजा खबर