प्रसव पीडा महसुस नगरी बच्चा जन्माउन ‘पेनलेस डेलिभरी’

प्रसव व्यथा पीडादायक हुन्छ, जसका कारण शिशुसँगै आमाले पनि नयाँ जीवन पाउँछिन्। तर, अहिले त्यस्तो प्रविधि भित्रिसकेको छ, जसले प्रसव पीडा महसुस नगरीकन नै बच्चा जन्माउने र आमा बन्ने सौभाग्य दिन्छ।

पेनलेस डेलिभरी भनिने यो विधिमा एपिड्यूरल एनाल्जेसिया औषधि दिएर विना दुखाई नै बच्चा जन्माउन सकिने भएकाले अहिले धेरै गर्भवतिको रोजाईमा पर्न थालेको छ ।

Painless Labour

के हो ‘पेनलेस डेलिभरी’?
काठमाडौंको चावहिलस्थित ॐ हस्पिटलका एनेस्थेसियोलोजिस्ट तथा पेन म्यानेजमेन्ट स्पेसेलिस्ट डा.श्याम महर्जनका अनुसार परापूर्वकालमा दुखाइलाई एउटा श्रापका रुपमा लिइन्थ्यो। जब विज्ञानको विकास हुँदै गयो तब मान्छेहरुले दुखाइलाई कसरी कम गर्न सकिन्छ भनेर उपाय खोज्न थाले। गाँजा र रक्सीजस्ता पर्दाथ खुवाएर अप्रेसन गर्न थालियो। त्यतिले मात्र नभएपछि एनेस्थेसियाको विकास भयो।

‘पेनलेस डेलिभरी’ मा प्रसव पीडा सुरु भएपछि ढाडमा एउटा क्याथेटर राखिन्छ जसबाट दुखाइ कम गर्ने औषधि दिइन्छ। यसलाई ‘एपिड्यूरल एनाल्जेसिया’ भनिने उनको भनाइ छ। डेलिभरी नहुन्जेलसम्म  दुई–दुई घण्टाको फरकमा औषधि थपिरहनु पर्ने डा. महर्लेजनले जानकारी दिए।

औषधि दिएपछि केहीमा टाउको दुख्ने, रिगंटा लाग्ने, एलर्जी हुने र खुट्टा झम्झमाउने जस्ता समान्य समस्या देखिने उनले बताए।

उनी भन्छन्, ‘प्रसव पीडा सहन नसकेर धेरैले अप्रेसन गरिदिन आग्रह गर्छन्।  दुखाइ सहनै नसक्ने महिला र मुटुमा समस्या भएका महिलाका लागि ‘पेनलेस डेलिभरी’ बरदान साबित भएको छ।’

डेलिभरी गर्ने समय नजिकिँदै गर्दा धेरै जना डराउने भएकाले विभिन्न खाले समस्याहरु पनि देखिने गर्छन्। ती समस्यालाई ‘पेनलेस डेलिभरी’ ले निकै राहत दिनेको उनी बताउछन्।

विकसित देशहरुमा ‘पेनलेस डेलिभरी’ गराउनेको संख्या धेरै भए पनि नेपालमा कमैलाई मात्र यसबारे थाहा भएको उनको भनाइ छ।

कस्तो अवस्थामा ‘पेनलेस डेलिभरी’ नगर्ने? 
कुनैकुनै अवस्था ‘पेनलेस डेलिभरी’ गर्न नमिल्ने डा. महर्जन बताउँछन्।

‘बच्चा धेरै ठुलो भएमा (साढे चार किलोभन्दा माथि), उल्टो बसेको भए, रगत धेरै बग्ने, प्लेटलेट्स कम र रगत नजम्ने रोग, उच्च रक्तचाप, छारे रोग, सुइ लगाउने ठाउँमा संक्रमण भएमा ‘पेनलेस डेलिभरी’ गर्न सकिँदैन,’ उनले भने।

त्यसैगरी पहिलो बच्चा शल्यक्रिया गरेर जन्माएको छ भने पनि ‘पेनलेस डेलिभरी’ गर्न नमिल्ने उनको भनाइ छ। ‘पेनलेस डेलिभरी’ गराउँदा गाइडलाइनमा तोकिएको सुत्केरी व्यथा भन्दा एक–दुई घण्टा बढी लाग्न सक्ने उनले बताए।

डा. महर्जनका अनुसार ‘पेनलेस डेलिभरी’  गर्दा समय बढी लाग्ने र बच्चालाई भ्याकुम लगाएर तान्नु पर्ने जोखिम नर्मल डेलिभरी भन्दा एक प्रतिशत बढी हुन्छ।

‘पेनलेस डेलिभरी’ गराउँदा गर्भवती आमालाई मात्र नभएर पेट भित्रको बच्चाको धड्कन पनि जाँचिराख्नु पर्ने भएकाले सोही अनुसारको टिम बनाउनु पर्ने उनले जानकारी दिए।

पेनलेस डेलिभरीबारे अधिकांश नेपाली महिलालाई  जानकारी छैन
नेपाली समाजमा अझै पनि यस प्रविधिबारे निकै कमलाई मात्र ज्ञान भएको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ममता बरालले बताइन्।

उनी भन्छिन्, ‘अस्पताल आउने धेरै गर्भवती महिलालाई ‘पेनलेस डेलिभरी’ बारे थाहा नै छैन। हामीले यसबारे भनेपछि दुखाइ नसहेर पनि बच्चा जन्मिन्छ र भन्दै अचम्म मानेर हाँस्छन्।’

‘गर्भवतीहरु आफ्नो सासू वा आमाहरुसँग सुत्केरी हुन आउँदा उनीहरुलाई दुखाइ बिना पनि नर्मल बच्चा जन्माउन सकिन्छ भनेपछि उनीहरु कहाँ हुन्छ? पीडा सहनु पर्छ, हामीले १०–१२ वटा बच्चा दुःख सहेरै पाएको हो भन्ने गर्छन्,’ उनले थपिन्।

गर्भवती महिलाले यो सेवा लिन खोजे पनि परिवारले भने सुरुमै पीडा सहेरै जन्माउनु पर्छ भन्ने गरेको डा.बरालले बताइन्।

‘पेनलेस डेलिभरी’ गर्नका लागि चिकित्सको टिम हरबखत उपलब्ध हुनु पर्ने भएकाले यस सेवालाई निरन्तरता दिन चुनौतीपूर्ण रहको उनी बताउँछिन्।

२०१८ मा काठमाडौंका दुई सय ५० जना महिलामा गरिएको एक अध्ययनमा १६ प्रतिशत महिला मात्र यसबारे जानकार रहेको र ८० प्रतिशत महिलाले ‘पेनलेस डेलिभरी’ सुविधा नेपालमा भए आफूहरुले उपभोग गर्ने बताएको उनले जानकारी दिइन्।


ताजा खबर