कोभिड-१९ निको भएकाहरू पनि अझै जोखिममा

एकपटक कोभिड-१९ पजिटिभ देखिएर ठीक भइसकेको व्यक्तिलाई फेरि संक्रमणको जोखिम नहुने धेरैको मान्यता छ। केही पहिले गरिएको अध्ययनले समेत त्यसलाई पुष्टी गरेको थियो।

तर, अक्सफोर्ड विश्वविद्यालयले गरेको नयाँ अध्ययनअनुसार पहिले एकपटक संक्रमण भइसकेको व्यक्ति नयाँ भेरियन्टबाट सुरक्षित नहुने पत्ता लागेको छ। लक्षण देखिने वा लक्षण नदेखिने जुनसुकै किसिमको संक्रमण भए पनि अब कोही पनि सुरक्षित नरहेको अक्सफोर्डको खोजमा पत्ता लागेको हो।

अक्सफोर्ड विश्वविद्यालयले लिभरपुल, सेफिल्ड, न्युक्यासल र बर्मिङ्घम विश्वविद्यालयसँगको मिलेर ‘यूके कोरोना भाइरस इम्युनोलोजी कन्सोर्टियम’सँगको सहकार्यमा सो अनुसन्धान गरेको थियो। अनुसन्धानमा पहिल्यै संक्रमण भइसकेका ७८ जना स्वास्थ्यकर्मीको रोग प्रतिरोधात्मक प्रणालीले नयाँ भेरियन्टको कोरोना भाइरससँग कस्तो प्रतिक्रिया जनाउँछ भनेर अध्ययन गरिएको थियो।

स्वास्थ्यकर्मीका अलावा सो अनुसन्धानमा अन्य जटिल रोग लागेका थप आठ बिरामीलाई पनि सहभागी गराइएको थियो। ६ महिनासम्म मासिक रूपमा रगत परीक्षण गरी संक्रमणपछि प्रतिरोधात्मक प्रणालीको प्रतिक्रिया अध्ययन गरिएको थियो।

अनुसन्धानका लागि भाइरससँग जुध्ने विभिन्न एन्टिबडीहरू, एन्टिबडी उत्पादन गर्ने र रोगलाई मेमोरीमा राखेर सम्भावित संक्रमणका लागि तयार रहने बी–सेलहरू एवं विभिन्न प्रकारका टी–सेलहरूको अध्ययन गरिएको अक्सफोर्ड विश्वविद्यालयले जनाएको छ।

रिसर्च स्क्वायरमा प्रकाशित गरिएको प्रारम्भिक रिपोर्टमा प्रतिरोधात्मक प्रणालीले कोरोना संक्रमणप्रति अत्यन्त जटिल तथा अस्थिर प्रतिक्रिया देखाएको उल्लेख छ।

अक्सफोर्ड भ्याक्सिन ग्रुपकी सदस्य तथा अनुसन्धाता डा. क्रिस्टिना डोल्डले आफूहरूले गरेको अध्ययन लक्षण देखिने र नदेखिने कोभिड–१९ संक्रमणलाई प्रतिरोधात्मक प्रणालीले गर्ने प्रतिक्रियाका बारेमा गरिएको सबैभन्दा विस्तृत अध्ययन भएको बताइन्।

‘हरेक व्यक्तिको रोग प्रतिरोधात्मक प्रणालीले फरक–फरक प्रतिक्रिया दिएको हामीले पायौँ। तर, लक्षण देखिने र नदेखिने दुवैथरिका अधिकांश व्यक्तिको प्रतिरोधात्मक प्रणालीमा ५–६ महिनापछि कोभिड–१९ को ‘इम्युन मेमोरी’ नै देखिएन। हामीलाई लाग्छ, उनीहरूलाई ५–६ महिनापछि फेरि संक्रमण हुनसक्छ। त्यसमाथि अहिले त नयाँ भेरियन्ट देखापरिरहेका छन्,’ डा. डोल्डले भनिन्।

‘इम्युन मेमोरी’ भनेको कुनै पनि रोग लागेर ठीक भएपछि रोग प्रतिरोधात्मक प्रणालीले सो रोग फेरि लागेमा कसरी पराजित गर्ने भनेर राख्ने जानकारी हो। एकपटक कोरोना भाइरस संक्रमण भएपछि प्रतिरोधात्मक प्रणालीले दोस्रोपटक लागेको खण्डमा आवश्यक एन्टिबडी उत्पादन गरेर तत्काल निको पार्छ भन्ने विश्वास थियो।

तर, अक्सफोर्ड विश्वविद्यालयको यो अध्ययनले पहिल्यै सञ्चो भइसकेका संक्रमित पनि बराबर जोखिममा रहेको देखाएको छ। डा. बोल्डले पनि एकपटक संक्रमित भइयो भन्दैमा ढुक्कले बस्न नहुने कुरामा जोड दिँदै सुरक्षित हुन भ्याक्सिन लगाउनैपर्ने बताइन्।

अनुसन्धानकर्ताहरूले ‘सिमोन’ उपनाम दिइएको नयाँ प्रविधिको मेसिन लर्निङ प्रविधि प्रयोग गरेर तथ्यांक अध्ययन गरेका थिए। सो प्रविधिले पहिले भएको कोरोना संक्रमण र नयाँ संक्रमणमा प्रतिरोधात्मक प्रणालीले देखाएको प्रतिक्रियाको विस्तारमा अध्ययन गरेको थियो।

लक्षण देखिने किसिमको संक्रमण भएका व्यक्तिहरूमा ६ महिनापछि पनि केही मात्रामा प्रतिरोधात्मक प्रतिक्रिया देखिए पनि २६ प्रतिशतमा भने केही देखिएको थिएन। यस्तै, लक्षण नदेखिने प्रकारको संक्रमण भएका १२ जनामध्ये ११ जनाको प्रतिरोधात्मक प्रणालीले ६ महिनापछि कुनै प्रतिक्रिया देखाएको थिएन।

अक्सफोर्ड भ्याक्सिन ग्रुपकै अर्की खोजकर्ता डा. एड्रियाना टोमिकले यसको अर्थ एकपटक संक्रमित हुँदैमा भविष्यमा हुनसक्ने संक्रमणबाट सुरक्षित नहुने बताएकी छन्। उपलब्ध हुनासाथ भ्याक्सिन लगाए मात्र कोभिड–१९ को जोखिमबाट जोगिइनेमा उनले जोड दिइन्।

(अक्सफोर्ड विश्वविद्यालयको वेबसाइटबाट)


ताजा खबर