नवजात शिशुलाई निरोगी राख्न चाहिन्छ अतिरिक्त स्याहार

~डा.प्रकाशनिधि तिवारी

नवजात शिशुलाई स्वस्थ र निरोगी राख्न अतिरिक्त स्याहार गर्नुपर्छ । अत्यावश्यक स्याहार भएन भने शिशुको मृत्यु पनि हुन सक्छ । स्वास्थ्य संस्था, घर वा जुनसुकै ठाउँ र अवस्थामा जन्मेको भए पनि नवजात शिशुको स्याहार अत्यावश्यक छ ।

आमाले नवजात शिशुमा हुने खतराका लक्षणबारे स्वास्थ्यकर्मीबाट जानकारी लिइराख्नुपर्छ । यसो भएमा आफ्नो बच्चालाई कुनै समस्या आएमा थाहा पाउन सकिन्छ र उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा लैजान सकिन्छ ।

  •  शिशुलाई सफा नरम कपडा लगाइदिएर न्यानो पारी राख्नुपर्छ ।
  • नवजात शिशुलार्ई दिउँसो र राति आमाको दूध दुई–दुई घन्टाकोे फरकमा खुवाउनुपर्छ ।
  • शिशुले आमाको दूध चुस्न नसकेमा दूध निचोरेर चम्चाले बिस्तारै खुवाउनुपर्छ ।
  • शिशुको नाभी काटेपछि नाभीमा कुनै चिज नलगाई सुक्खा र सफा राख्नुपर्छ । नाभीमा जथाभावी तेल वा अन्य कुनै पनि पदार्थ राख्दा नाभीको संक्रमण भई शिशु बिरामी हुने तथा मृत्युसम्मको खतरा हुन्छ ।
  • शिशुलाई समाउनुअघि हात राम्रोसँग धुनुपर्छ । यसो गरेमा शिशुलाई संक्रमणका सम्भावना कम हुन्छ ।
  •  शिशुको आँखामा तेल हाल्ने तथा गाजल लगाउँदा आँखामा संक्रमण हुन सक्छ ।
  • शिशु जन्मेको एक घन्टाभित्रै आमाको दूध खुवाउनुपर्छ । कतिपयले बिगौती दूध फोहोर हुन्छ भनेर खुवाउँदैनन् । तर, त्यो दूध नै पोसिलो हुन्छ । आमाको बिगौती दूध नवजात शिशुका लागि पहिलो खोप हो । यस्तो दूधमा नवजात शिशुलाई संक्रमणबाट रोक्न सक्ने प्रतिरोधात्मक तत्व पाइन्छ । शिशुले पनि आमाको दूध सजिलो गरी पचाउन सक्छ ।
  • कतिपय आमाले बच्चालाई स्तनपान गराउन अल्छी मान्छन् । बरु बाहिरको दूध (ल्याक्टोजिन) किनेर खुवाउने चलन छ । बाहिरको दूध खुवाउँदा बच्चाले आमाको दूध चुस्न मान्दैन र आमाको दूध पनि घटेर जान्छ । त्यसकारण दुई–दुई घन्टाको फरकमा बच्चालाई दूध खुवाउनुपर्छ । जसले आमाको दूध स्वतः बढेर जान्छ ।
  • बच्चालाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । आमाको दूधले बच्चालाई पौष्टिक आहार पुग्छ । जुन बच्चालाई पर्याप्त आमाको दूध पुगेको हुँदैन, त्यस्ता बच्चा पछि बिरामी हुने सम्भावना बढी हुन्छ ।
  • नवजात शिशुको शरीरका सबै अंग राम्ररी विकसित भइसकेको हुँदैन । यस्तो वेला बच्चालाई संक्रमण हुने खतरा हुन्छ । त्यसैले कोठालाई न्यानो बनाएर राख्नुपर्छ । कम्तीमा कोठाको तापक्रम २७–२८ डिग्री हुनुपर्छ ।
  • कोठा न्यानो पार्नका लागि बालिने कोइला, दाउरा, ग्यास हिटर, होलोजन हिटर बाल्ने चलन हुन्छ । तर, यसबाट निस्केको कार्बनमोनोअक्साइडले झन् बच्चालाई असर गर्छ । कोठालाई खुला राख्ने र कोठाको तापक्रमलाई सन्तुलनमा राख्नुपर्छ ।
  • बच्चालाई न्यानो घाममा सेकाउँदा राम्रो हुन्छ । धेरै हावा नचल्ने, चिसो नहुने, घाम लाग्ने ठाउँमा घाममा सेकाउन सकिन्छ ।
  • विशेष गरी नवजात शिशुको रगत फेरिने क्रममा पुराना रक्तकोषहरू फुट्छन् । त्यसपछि बच्चाको शरीर जन्डिसजस्तो पहेँलो देखिन्छ । यसलाई फिजियोलोजिकल जन्डिस भनिन्छ । न्यानो घाममा राखेर बच्चालाई दूध खुवायो भने बिस्तारै कम हुँदै जान्छ । तर, यदि बच्चाले निरन्तर रोइरह्यो र दूध चुस्न कम गर्‍यो भने चिकित्सककहाँ लैजानुपर्छ ।
  • बच्चाको शरीरमा कुनै खतको चिह्न देखिएमा तुरुन्त चिकित्सकलाई देखाउने ।

बरिष्ठ वालरोग तथा वाल अर्बुदरोग विशेषज्ञ डा. तिवारी काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ  ।


ताजा खबर