उखुको मूल्य निर्धारण हुँदा किसानलाई राहत

सरकारले चालु आर्थिक वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । उचित मूल्य नपाइरहेको किसानको गुनासो आएपछि मन्त्रीपरिषद् बैठकले उखुको मूल्यमा प्रतिक्विन्टल २० रुपैयाँ बढाएको हो ।

अनुदानसहित उखुको खरिद मूल्य अहिले प्रतिक्विन्टल ६ सय १० रुपैयाँ पुगेको छ । हालको यो मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल २० रुपैयाँले बढी हो । उखु बिक्री गर्दा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको छ । उखुको मूल्य निर्धारण भएपछि किसानलाई केही राहत भने भएको छ ।

खरिद मूल्य बढेपछि राहत भएको भन्दै त्यसको सही कार्यान्वयन हुनुपर्ने मोरङ धनपालथान गाउँपालिकाका किसान अरुणकुमार सिंहको भनाई छ । उहाँ भन्नुहुन्छ ‘एक बिगाहा उखु बाली लगाउँदा ७० देखि ८० हजार खर्च लाग्ने भएकाले खरिद मूल्य बढ्दा केही भए पनि राहत भयो ।’

अर्का किसान मथुरानन्द मण्डलले चार बिगाहा जग्गामा उखु खेती गर्दै आउनु भएको छ । लामो समयदेखि व्यावसायिक रूपमा उखु खेती गर्दै आए पनि बजारमा मलखाद नपाएर बालीमा मलको प्रयोग गर्न नपाउँदा उत्पादन घटेको उहाँको भनाई छ ।

मजदुरको पारिश्रमिक तथा उखुको ढुवानी मूल्यका साथै सिँचाइका लागि डिजेलको मूल्य बढेकाले उखुको खरिद मूल्य बढ्दा किसानलाई फाइदा पुग्ने भन्नुहुँदै उहाँले मलखाद तथा सिचाइको सहज व्यवस्थाका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

मोरङ तथा सुनसरी जिल्लामा उत्पादित उखु सुनसरीस्थित इस्टर्न सुगर मिलले खरिद गर्दै आएको छ ।

यस वर्षको उखुको मूल्य निर्धारण गरे पनि त्यस विषयमा मिलमा परिपत्र नआएकाले पुरानै मूल्यमा उखु खरिद गरिरहेको मिलका प्रबन्धक पवन झाले बताउनुभयो । मन्त्री परिषद्ले निर्णय गरेको परिपत्र अहिलेसम्म नआएकाले गत वर्षको मूल्य अनुसार उखु किसानलाई पेमेन्ट गरिरहेको प्रबन्धक झाको भनाई छ ।

सरकारले दिएको अनुदान बाहेक मिलले ५ सय २० रुपैयाँ प्रतिक्विन्टलमा उखु खरिद गरिरहेको छ । मन्त्रीपरिषद् बैठकको निर्णयको परिपत्र आउने बित्तिकै सरकारले निर्धारण गरेको मूल्य अनुसार उखु खरिद गर्ने मिलले जनाएको छ ।

उखु मिलले समयमा पुर्जी नदिँदा किसानलाई उखु बिक्रीमा समस्या हुँदै आएको छ । मिलले उखु काट्ने समयमा पुर्जी नदिँदा विक्री गर्ने क्रममा उखुको तौल घट्ने भएकाले वर्षेनी घाटा सहनु परिरहेको किसानको गुनासो छ ।

आवश्यक मलखाद नपाइरहेको अवस्थामा मिलले समेत समयमा पुर्जी नदिँदा आफूहरू मर्कामा परेका अर्का किसान कृष्णानन्द मण्डलको भनाई छ । उखु बाली एक वर्षमा उत्पादन दिने भए पनि बिक्रीका लागि पुँजीका लिन १५ महिनासम्म कुर्नुपर्ने अवस्था रहेको मण्डलको भनाई छ ।

सरकारले दिएको अनुदान र यस वर्षको न्यूनतम खरिद मूल्य जोड्दा प्रति क्विन्टल उखुको मूल्य ६ सय १० रुपैयाँ पर्न आउँछ ।


ताजा खबर