अयोध्या लगियो कालीगण्डकी नदीको देव शिला

कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ ।

शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला बिहिबार मन्दिरमा रुद्राभिशेकसहित विशेष पुजा गरी जनकपुर हुँदै अयोध्याका लागि बिदाइ गरिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो । नगर प्रमुख सुरत केसीले शिलाको पूजा आराधना गरी जनकपुर मन्दिरका पिठाधीस रामतपश्वेर दासलाई सो शिला हस्तान्तरण गरेपछि बाजागाजा र र्‍यालीसहित बेनी बजार परिक्रमा गराई जनकपुरतर्फ पठाइएको हो ।

रामको मूर्ति बन्ने शिलाको दर्शन गर्न सयौँ भक्तजन, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायतको भीड लागेको थियो । गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा र गङ्गा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतिकस्वरुप तीन वटा शालिग्राम हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार १८ र १६ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि आज श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

हिन्दू धर्मावलम्बीको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आउनुभएका राममन्दिर निर्माण समितिका सचिव पङ्कजले बताउनुभयो ।

“यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौँ, शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्”, उहाँले भन्नुभयो, “अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ ।”

नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सरकारले मधेस प्रदेश सरकारलाई जनकपुर पुर्‍याएर हस्तान्तरण गर्नेछ । जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने बताइएको छ ।


ताजा खबर