फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुने

निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो ।

त्यस्तै, आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताउनुभयो ।

उहाँले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदान गर्ने गरी आवश्यक तयारी गर्ने प्रयास गरे पनि तत्काल सम्भव नदेखिएको भन्दै मतदान काठमाडौंमा नै हुने बताउनुभयो ।

प्रवक्ता पौडेलले राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन फागुन १० गते, दाबी, विरोध, उजुरीलगायतका काम १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । यसैगरी, अन्तिम मतदाता नामावली फागुन १२ गते प्रकाशन गर्ने र १३ गते उम्मेदवार मनोनयन दर्ता कार्यतालिका रहेको आयोगले जनाएको छ ।

त्यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने १३ गते साँझ, उम्मेदवारको विरुद्धमा उजुरी दिने १४ गते, मनोनयन र उजुरीमा छानबिन गरी निर्णय गर्ने १४ र १५ गते, उम्मेदवारको नामावली प्रकाशित गर्ने १५ गते साँझ, उम्मेदवारले नाम फिर्ता लिने १६ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने १६ गते साँझ र मतदान गर्ने २५ गते रहेको आयोगले जनाएको छ ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने भएको छ । प्रवक्ता पौडेलले मतदाता नामावली प्रकाशित गर्ने कामलगायतका कामलाई राष्ट्रपतिकै कामलाई  गरेकोबाट निरन्तरता दिने बताउनुभयो । उहाँका अनुसार उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता फागुन २७ गते, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशित गर्ने सोही दिन २७ गते नै छ । उम्मेदवारको विरोधमा उजुरी दिने सोही दिन, मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने २८ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने फागुन २८ गते छ ।

प्रवक्ता पौडेलले आयोगले संविधानको मर्म र भावलाई  समातेर पाँच वर्षको अवधि नघट्ने गरी तादात्म्य मिलाउनका लागि आयोग लागेको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २८ गतेबाट सकिँदैछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिसँगै निर्वाचन तालिकासमेत सार्वजनिक गरिएको छ । -रासस


ताजा खबर