चितवन राष्ट्रिय निकुञ्जमा बढ्दैछ गैँडा तस्करी

 चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्कता अपनाइएको छ ।

यही माघ ६ मा चोरी शिकारी गर्नेहरूले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सतर्कता अपनाएको हो ।

निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैँडा मरेका थिएनन् । शिकारीले गैँडा मार्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।

उहाँका अनुसार निकुञ्ज क्षेत्रभित्रका २२ वटा उपभोक्ता समिति अन्तर्गत रहेका चोरी शिकारी नियन्त्रण इकाई लाई प्रभावकारी रूपले चलायमान बनाउन सुरु गरिएको छ ।

उहाँले भन्नुभयो, “चोरी शिकारीसम्बन्धी जनचेतनासहित इकाई लाई सक्रिय बनाइएको छ ।” निकुञ्जमा गैँडा तस्कर बढेपछि यस विषयमा अनुसन्धान सुरु गरिएको छ । गैँडा संरक्षणसँग आबद्ध सरोकारवाला निकायबिच छलफल गरी सचेतना तीव्र बनाउँदै सूचना संयन्त्र थप प्रभावकारी बनाउन गृहकार्य सुरु गरिएको उहाँले बताउनुभयो ।

गैँडाको बाक्लो वासस्थान रहेको क्षेत्रमा नियमित गस्ती बढाइएको र सो क्षेत्रमा रहेका समुदायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको निकुञ्जले जनाएको छ ।

चालु आर्थिक वर्षमा निकुञ्जमा ११ गैँडा मरेका छन् । जसमध्ये ८ गैँडा कालगतिले मरेका हुन भने दुई वटा चोरी शिकारीले मारेका छन् । एउटा गैँडा गाउँ पस्ने क्रममा विद्युतीय करेन्ट लागेर मरेको तिवारीले जानकारी दिनुभयो ।

गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले वन र वन्यजन्तुसम्बन्धी सुरक्षामा विशेष काम सुरु गरेको छ । निकुञ्जमा नेपाली सेना र कर्मचारीको संयुक्त र एकल गरी ५७ पोस्ट छन् । ती पोष्टमध्ये कतिपयमा हात्तीसमेत छन् ।

 निकुञ्जमा दैनिक पैदल, साइकल, डुङ्गा, हात्ती र गाडीबाट नियमित गस्ती गरिँदै आएको छ । तिवारीका अनुसार अनुसन्धानमा कुकुरसमेत प्रयोग गरिन्छ । तस्करले गँैंडा मारेपछि गस्ती कडाइका गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजी तीव्रता दिइएको उहाँले बताउनुभयो ।

सशस्त्र द्वन्द्वको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए । पछिल्ला वर्षमा चोरी सिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो । पुनः तस्करी सुरु भएपछि यसलाई विशेष ध्यान दिएर नियन्त्रणको अभियानमा निकुञ्ज प्रशासन लागेको जनाइएको छ । पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ एकसिङ्गे गैँडा छन्,  जसमध्ये छ सय ९४ चितवन राष्ट्रिय निकुञ्जमा छन् । – रासस


ताजा खबर