‘दन्तरोग लाग्न नदिन बेला बेलामा दाँतको परीक्षण गर्नुपर्छ’

दाँत मानव शरीरको मुखभित्र रहेको सबैभन्दा कडा संरचना हो । दाँतले खाना चपाउने वा टोक्ने मात्र होइन बोलीलाई स्पष्ट पार्ने काम पनि गर्छ । मानव स्वास्थ्यका लागि दाँतको महत्व धेरै रहेको छ । तर दाँतलाई स्वस्थ राख्नु झन महत्वपूर्ण कुरा हो । चम्किलो र मिलेको दाँत सबैलाई मन पर्छ । स्वस्थ र मिलेको दाँतले मानिसको सुन्दरतामा अझ निखार ल्याउँछ । तर, दाँतको उचित हेरचाहा गरिएन भने यसमा विभिन्न समस्याहरु आउन सक्छन् जसले गर्दा मानिसले स्वास्थ्यमा निकै समस्या झेल्नुपर्ने हुनसक्छ । दाँतमा देखिने समस्या यसको उपचार,दाँतको हेरबिचार लगायतका विषयमा ॐ हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिस्ठ डेन्टल सर्जन डा. हरिश जोशी सँगको सफल  कुराकानीको सम्पादित अंश ।

नेपालमा पछिल्लो समय दाँतको समस्या लिएर अस्पताल धाउनेहरुको संख्या बढ्दो छ दाँतमा खासगरी समस्या आउनुको कारण के होला ?

दाँत मानिसको मुखभित्रको असाध्यै महत्वपूर्ण संरचना हो । यसको हेरबिचार नगर्दा विभिन्न समस्याहरु देखा पर्ने गरेका छन् । दाँतका कारण मुखको रोग पनि देखा पर्छ । त्यो भनेको जनचेतनाको अभावले हो । मानिसले दाँतको हेरचाहमा लापरवाही गरेकै कारण दाँत दुख्ने, गिजा सुन्निने, दाँतमा किरा लाग्ने जस्ता रोगको सामना गर्नुपरेको हो । त्यसका लागि हामीले खानपानमा ध्यान दिनुपर्छ । सबैकुरा मुखबाट दाँतले चपाउँदै पेटभित्र जाने गर्छ । त्यसकारण दाँतदाई असर पार्ने खालका खानेकुराहरु खाँदा हेरबिचार पुर्‍याउने र कमसे कम दिनमा २ पटक दाँत माझ्ने बानी बसाल्नुपर्छ । यसो गर्न सके दन्त रोग लाग्नबाट जोगिन सकिन्छ 

दाँतको हेरबिचार नगर्दा कस्ता प्रकारका रोगहरू लाग्दछन् ?

बाहिरी देशहरूको तुलनामा नेपालमा दाँतको हेरबिचारलाई सामान्य तथा लापरवाहीको रुपमा लिने गरेको देखिन्छ । किनकि हामी जति दाँत दुखेपनि दुखाइ कम गर्ने औषधीहरु औषधी पसलमा सजिलै किन्न सक्छौं र त्यसको प्रयोग गर्छाै । डाक्टरको परामर्श बिनानै खाइने यस्ता औषधीहरूले शरीरमा विभिन्न किसिमका रोगहरू निम्त्याउन सक्छन् । यदि हाम्रो दाँत र खाना खाने मुख नै स्वच्छ छैन् भने, खाएको खानाले शरीरमा फाइदा दिन्छ भन्नै मिल्दैन् । यसले मुटुको रोग देखि विभिन्न समस्याहरू देखिने गर्छन् । मुख गन्ह्राउने, पेटको समस्या, ग्यास्ट्रिकको समस्या, गिजाहरू सुन्निने, उमेर नपुगी दाँतहरू झर्ने, जस्ता समस्याहरू देखिने गर्दछन् । किनकि मुखमा धेरै किटाणुहरु रहेका हुन्छन् । त्यसकारण स्वस्थ मुखले नै शरीर स्वस्थ पार्ने भएकाले दाँत र मुखको सरसफाइमा ध्यान दिएमा दाँतको समस्या आउँदैन ।

हामी जाडोमा बढी तातो र गर्मी मौसममा चिसो खानेकुरामा बढी ध्यान दिन्छौ त्यसले दाँतलाई कस्तो असर पार्छ ?

धेरै तातो र धेरै चिसो खाने कुराले दाँतलाई असर गर्दछ । धेरै तातो र धेरै चिसो खानेकुराले दाँतमा सिरिङ्ग–सिरिङ्ग पैदा गर्दछ । त्यसैले ठिक्क तातो र ठिक्क चिसो खानेकुराहरू मात्र खानुपर्दछ । सकेसम्म चिसो पेयपदार्थहरू नखाएको राम्रो हुन्छ । तर, खान मन लागे यसको उचित मात्रा खाने गर्नुपर्छ । हामीले तातो र चिसोको मात्रालाई मिलाएर खानुपर्दछ । तातो र चिसो कुराहरू एकै पटक भने खानु हुदैन ।

शहरी मात्र नभएर अहिले उपलब्धताका हिसाबले ग्रामिण क्षेत्रका बालबालिकाहरुले चकलेट, आइसक्रिम जस्ता खानेकुरामा बढी ध्यान दिने गरेका छन् । यसले दाँतलाई कस्तो असर गर्छ ?

अहिलेका बालबालिकाहरूलाई घरमा जितिसुकै मिठो खानेकुरा पाकेपनि बाहिरको खानेकुरा नखाई हुँदैन । उनीहरूको रुचि बढी बाहिरको खानेकुरामा नै हुन्छ । त्यसले दाँतलाई असर गर्छ । त्यस्ता कुरामा अभिभावकले बिस्तारै नियन्त्रण गर्दै लैजानुपर्छ । बालबालिकालाई चकलेट र आइसक्रिम दिनै हुँदैन भन्ने त होइन, तर दिँदा कुन समयमा कति दिने भन्ने कुरा अभिभावकलाई राम्रोसँग जानकारी हुनुपर्छ । चकलेट, आइसक्रिम जस्ता खानेकुराहरू खानासँगै कहिले दिनहुँदैन । तर अभिभावकले बालबालिकाहरूलाई त्यहि समयमा दिने गर्छन् । यो एकदम गलत कुरा हो । यसले बालबालिकाको दाँतमा किरा लाग्ने गर्दछ । खासगरी यस्ता कुराहरू खाएपछि दाँत माझ्नु र कुल्ला गर्नु अनिवार्य छ । नत्र दाँत बिग्रिन्छ ।

मानिसमा गिजा सुन्निने समस्याहरु देखिने गरेका छन्, के त्यो पनि दाँतको कारणले हो ?

दाँतमा भएको समस्याका कारणले पनि गिजामा विभिन्न प्रकारका रोगहरु देखा पर्ने गर्छ । हामीले विभिन्न खानेकुरा खाँदा त्यसका स–साना टुक्राहरु दाँतमा टाँसिएका र अड्किएका हुन्छन् । हामीले दाँत माझेनौ र मुख कुल्ला गरेनौ भने ती खानाका टुक्राहरु दाँतमा नै कुहिन्छन् । त्यहि कुहिएको फोहोरका कारण गिजा पाक्ने, सुन्निने, गिजाबाट रगत आउने, दाँतमा किरा लाग्ने, मुख गन्हाउने जस्ता समस्या देखा पर्छन् । दाँतका अलवा कहिलेकाही अरु रोगका कारण पनि गिजामा समस्या आउने गर्छ ।

दाँतमा किरा लाग्नुको मुख्य कारण के हो ?

दाँतका किरा लाग्नुको मुख्य कारण खानेकुराहरू दाँतमा अडकिएर बस्नुनै हो । त्यसरी बसेका खानेकुराहरू जब दाँतमा नै कुहिन र सड्न थाल्छ त्यसबाट हानिकारक ब्याक्टेरीयाहरू बन्न थाल्दछन् । जुन हाम्रो आखाँले देख्न सक्दैनौ, त्यसैलाई हामी किरा लागेको भन्ने गर्दछौ । दाँतमा अड्किने खानेकुरा चकलेट लगायतले दाँतमा किरा लाग्ने गर्छ । यस्तै गहँुको मैदाबाट बनेका खानेकुरा खाँदा पनि दाँतमा किरा लाग्ने सम्भावना रहन्छ ।

ग्रामिण र शहरी क्षेत्रमा तुलनात्मक रुपमा हेर्दा, कुन क्षेत्रमा बढी दाँतको समस्या भएको देखिएको छ ?

दन्त रोगको समस्या ग्रामिण र शहरी दुबै क्षेत्रमा नै छ । तर म के भन्छु भने ग्रामिण क्षेत्रको तुलनामा शहरी क्षेत्रका मानिसहरुमा दाँतको समस्या बढी छ । किनकि शहरी क्षेत्रमा मानिसहरुले दन्त स्वास्थ्यबारे थाहा हुँदा हुँदै पनि दाँतको हेरविचारमा लापरवाही गर्ने गरेका छन् । शहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रका मानिसमा जनचेतना र दन्त स्वास्थ्यको सुविधा कम छ । जनचेतना जगाउन सकेमा ग्रामिण क्षेत्रमा दन्त रोग नियन्त्रण गर्न सकिन्छ ।

विशेषगरी कुन उमेरदेखि दाँत जचाउँनु पर्दछ ?

कुनै पनि बच्चा जन्मिएदेखि नै दाँतको जाँच गराउन जरुरी छ । भर्खरै जन्मिएको बच्चाको दाँत त हुँदैन । तर बच्चाले दुध खाएपछि नरम कपडाले आमाको औंलाको मद्दतले बच्चाको मुखमा सफा गर्ने गनुपर्दछ । दाँतको सरसफाइ गर्ने भनेको नै त्यतिबेला देखि नै हो । यसमा कुन उमेर भन्ने कुरा नै हुँदैन । जहिले पनि दाँतको हेरबिचार गर्नुपर्छ ।

दाँत दुख्दा ल्वाङको तेलको प्रयोग गरिने गरिन्छ ? यो हाम्रो दाँतको लागि कतिको फाइदाजनक छ, या हानिकारक छ ?

सामान्यतया नेपालको जुनसुकै ठाउँका मासिहरूले पनि दाँत दुख्दा ल्वाङको तेलको प्रयोग गर्ने गर्दछन् । यसलाई अत्यधिक दाँत दुखेको समयमा प्रयोग गर्न त सकिन्छ, तर ल्वाङको तेल नै दाँत दुखाईको उपचार हो भनेर नियमित प्रयोग गर्नु भने हानिकारक छ । ल्वाङको तेल लगाउँदा दुखेको ठाउँमा आनन्द आउने हुन्छ । त्यसले दुखाईलाई जलाइ दिन्छ र हामीलाई दुखेको अनुभव हुँदैन् । तर, दातँको समस्यालाई ल्वाङको तेलले पूर्ण रुपमा निको पार्छ भन्नु चै गलत हो । आपतकालीन अवस्थामा यो तेलको प्रयोग गरेतापनि दन्त चिकित्सककोमा परामर्श लिई उपचार गर्नुपर्छ ।

कतिपयले त दाँत दुख्यो भनेर झारफुक पनि गर्ने गरेका छन् । यो गलत हो । किनकि फुकेर रोग निको हुँदैन । चिकित्सकको सल्लाह लिएर उपचार गर्नु पर्छ । दाँत दुखेको बेला फुकेर निको हुने भन्ने कुरामा कतिपयले विश्वास गरेका हुन्छन् । तर त्यो भरपर्दाे कुरा होइन ।

दाँतलाई स्वस्थ राख्ने उपाय भनेको के हो ?

दाँतलाई स्वस्थ राख्नका लागि अति आवश्यक कुरा नै दाँतको सरसफाइ हो । हामीले हाम्रो मुखलाई स्वस्थ राख्न सकेमा मात्रै दाँत स्वस्थ हुन्छ । दिनमा दुइपटक दाँत माझ्ने, गुलियो र मैदाबाट बनेका खानेकुरा खाँदा तत्काल कुल्ला गर्ने गर्नुपर्छ । बिहान बेलुका खाना खाएपछि दाँत माझ्ने बानी बसाल्नुपर्छ । कतिपयले बेलुका खाना खाएर दाँत माझेपछि बिहान उठ्ने बित्तिकै दाँत माझ्ने गर्छन । त्यो चाहि गलत हो किनकि बेलुका खाना खाएपछि दाँत माझेर सुत्दा बिहान उठेर कुल्ला गर्दा हुन्छ । तर बिहानको खाना खाएपछि चाहि माझ्नुपर्छ ।

बिग्रदो जीवनशैली, खानपानमा ख्याल नगर्नु, दाँतको उचित हेरबिचार नगर्नु जस्ता कारणबाट नै दन्त रोग लाग्छ । कम्तिमा ६–६ महिनामा दाँतको परीक्षण गर्नुपर्छ ।

दाँतको उपचार महंगो छ भनिन्छ, रोग लाग्नै नदिन के गर्नु पर्ला ?

मुख्य कुरा त मानिस आफै‌ आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्‍यो । त्यसैगरी सरकारले पनि ग्रामिण क्षेत्रमा जनचेतना फैलाउनु परयो । अभिभावकले पनि आफ्ना बालबच्चालाई दाँतको महत्वबारे बुझाउनु परयो । किनकि बालबालिका भनेका गिलो माटोजस्तै जे बनाउन चाह्यो त्यस्तै हुने हुन् । त्यसकारण उनीहरुको खानपानमा ध्यान दिनुपर्यो । स्वस्थ नागरिकले नै हरेक काम गर्न सक्छ । दाँत माझ्ने कुला गर्ने जस्ता कुराहरुमा पनि सचेत रहनुपर्छ ।

नेपालको तुलनामा कतिपय देशहरूमा दाँतको उपचार अतिनै महंगो पर्न जान्छ । विदेश गएका नेपाली पनि दाँतको उपचार स्वदेशमै गर्न फर्किने गरेका उदाहरण धेरै छन् । विदेशमा स्वास्थ्य बीमाले पनि दाँतको उपचारलाई भने बीमा भित्र राखेको पाइदैन । त्यसकारण कतिपय विदेश गएका नेपालीहरुले दाँतको उपचार गर्नु पर्दा आफ्नै देशमा आएर गर्ने गरेका हुन् । अझ थोरै आम्दानी भएका नेपाली कामदारहरुले बिदेशमा दाँतको उपचार गर्न सम्भव हुँदैन ।

यदि दाँत धेरै नै बिग्रिएको छ र त्यसले नशासम्म छोएको छ भने आरसीटी गर्नुपर्ने हुन्छ । जसलाई रुढ क्यानल ट्रिटमेन्न भनिन्छ । यो उपचार विधि निकै महंगो पनि पर्न जान्छ । थौरै मात्रामा बिग्रिएको छ भने सामान्य दाँतलाई सिमेन्ट भरेर उपचार गर्न सकिन्छ । रोग लाग्नै नदिन त बेला बेलामा दाँतको परीक्षण गर्ने र आफै‌ सचेत हुनुपर्छ ।


ताजा खबर