पल शाहलाई तनहुँ जिल्ला अदालतबाट सफाइ

नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता शाहलाई सफाइ दिएको हो । शाहविरुद्धको सुनुवाइमा अदालतले अभियोग दाबी नपुग्ने फैसला सुनाएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

“तनहुँ जिल्ला अदालतमा दर्ता भएको शाहविरुद्धको मुद्दामा अदालतले सफाइ दिने फैसला सुनाएको छ”, उहाँले भन्नुभयो, “फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट छ ।”

अभिनेता शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा पटक पटक तोकिएर स्थगित हुँदै आएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइमा आज वरिष्ठ अधिवक्ता कमला मोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गर्नुभएको थियो ।

तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिए पनि उनी कारागारमै रहने छन् । सोही प्रकृतिको मुद्दा नवलपुर जिल्ला अदालतमा दर्ता भएकामा नवलपुर जिल्ला अदालतले शाहविरुद्ध गत भदौ २१ गते दुई वर्ष छ महिना कैद र रु २५ हजार जरिवानाको फैसला सुनाएको थियो । साथै पीडितलाई रु दश लाख क्षतिपूर्ति दिनुपर्ने फैसला भएको थियो ।

शाहले उक्त फैसलाउपर गत कात्तिक २५ गते उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत वर्ष फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । उनलाई चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । रासस 


ताजा खबर