न्यु डायमण्ड एनभीए क्लब च्याम्पियनसिपको फाइनलमा

न्यु डायमण्ड स्पोर्ट्स क्लब सातौं संस्करणको एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएर न्यु डायमण्ड उपाधि नजिक पुगेको हो ।

पहिलो सेट १७-२५ ले गुमाएपछि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गरेको थियो ।  त्यसपछि तीन सेट २५-१९, २५-१६ र २५-१८ ले जित्दै न्यु डायमण्ड उपाधि नजिक पुगेको हो ।

अब न्यु डायमण्डले उपाधिका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

पुलिसले एपीएफलाई ३-२ को सेटमा हराएर फाइनल पुगिसकेको छ ।

च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।

विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।


ताजा खबर