सीओपीडीको जोखिमबाट कसरी जोगिने ?

बरिष्ठ छातिरोग विशेषज्ञ प्रा.डा. सुवोध सागर ढकाल  लामो समय देखि विरामीको उपचार मात्रै होईन स्वास्थ्य जनचेतना अभिबृद्धि गर्ने अभियान मार्फत पनि उहाँ लगातार आम जनतासंग जोडिनु भएको छ । सफल नेपालले उहाँलाई ॐ अस्पतालमा भेटेर सीओपीडीको अवस्था, निदान र उपचार प्रक्रियाका बारेमा छोटो कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सारसंक्षेप :

सीओपीडी भनेको के हो ?
सीओपीटी एउटा अग्रेजी शव्दको छोटकरी लेखिएको अक्षर हो । अर्थात क्रोनिक अक्स्टटिभ पल्मोनरी डिजिजलाई छोटकरी रुपमा सीओपीडी भनिन्छ ।

स्वासप्रश्वास सम्वन्धी दीर्घ रोगीलाई हामी सीओपीडीका बिरामी भन्दछौँ । मेडिकल शव्दमा सीओपीडी सीओपीडीसंग जोडिएर आउने अर्को दुईवटा शव्द छ । त्यसमध्येको एउटा हो क्रोनिक ब्रोन्काइटिस र अर्को इम्फाईसेमा ।

क्रोनिक ब्रोन्काइटिसमा सुरुमा दुई तीन महिना खोकी लाग्दै त्यसपछि खोकीको मात्रा बढ्दै बढ्दै बर्ष भरी नै लाग्न सक्छ । यस्तै इम्फाईसेमा भएको अवस्थामा फोक्सोको एल्भिओलाई स्वाशप्रस्वासका क्रममा राम्रोसंग खुम्चिन नसकेर फोक्सो फुल्लिई रहने अवस्था हुन्छ ।

सामान्यतया भन्दा सीओपीडी एक स्वास नलिको खुम्चाईका कारण हुने स्वास्थ्य समस्या हो । अर्थात सुजन भएर स्वास नलि खुम्चिएर, श्वास प्रस्वासमा अवरोध हुने, दम बढ्ने, खोकी लाग्ने हुन्छ । यो दीर्घकालिन रुपमा हुन्छ । जस्तो कि रुघा खोकी लाग्दा केही दिन मै निको हुनसक्छ । तर सीओपीपी भनेको दीर्घरोग हो । एक पटक देखिएपछि यो सधैभरी नै रही नै रहन्छ ।

आज्मा र सीओपीडीमा के फरक छ ?
सीओपीडीलाई ‘नन् रिभर्सिभल’ भन्दछौँ । एक पटक सीओपीडी भईसकेपछि त्यो चाहि नर्मल वा स्वभाविक अवस्थामा आउन सक्दैन भनिन्छ । एक पटक सीओपीडी भयो भने यो वर्ष बर्षमा यसको अवधीहरु बढदै बढ्दै जान्छ पुरानै नर्मल अवस्था फर्किन सक्दैन ।

तर, ब्रोङ्किएलआज्मा, एलर्जी आज्माहरु जो हुन्छन् , त्यसमा छाती घ्यार घ्यार, छातीमा कडा हुने, मान्छे निसासिने जसलाई दम भन्छौँ हामी, यस्तो किसिमको ब्रोङ्किएलआज्मा यो साधारणतया फर्केर आउन सक्छ । व्यक्ति पूर्ववत रुपमा स्वस्थ रहन सक्छ ।

यसरी पनि चिन्ह सकिन्छ आज्मा, आस्थामा वा दम जे नाम दिए पनि यो बर्षभरी वा सधैभरी देखिदैन । कहिलेकाँही त्यस्तै लक्षण देखाउँछ तर औषधि गरेपछि नियन्त्रणमा आई हाल्छ । फेरी नर्मल फोक्सो नर्मल अवस्थामा नै फर्कन्छ ।

सीओपीडीको जोखिम कस्तो व्यक्तिहरुलाई हुन्छ ?
सीओपीडी सबैलाई हुँदेन । सम्वेदनशील व्यक्तिहरुमा यो देखिन्छ । सीओपीडी देखिनुको प्रमुख कारण धूमपान हो । जो व्यक्तिले धूमपान गर्छ त्यसलाई सीओपीडी हुने सम्भावना बढी हुन्छ । अर्को बाताबरणीय प्रदुषण, बायू प्रदुषणले पनि सीओपीडी बढाउँदै गएको छ ।

चुरोट नखाने तर अरुले खाएको चुरोटको असर (सेकेन्डरी स्मोकर)लाई पनि यो समस्या देखा पर्दछ । सिमेन्ट कारखाना, ईटा कारखाना, कोइला खानीमा निरन्तर काम गर्ने व्यक्ति पनि सीओपीडीको जोखिम समूहमा पर्दछन् । यस्तै घर भित्रको धुवा (इन्डोर पोलुसन)मा धेरै समय रहने र घर भित्र काम गर्ने व्यक्तिमा पनि यस्तो समस्या बढी हुने गर्दछ ।

सीओपीडी नै भयो भनेर कसरी चिन्ने ?
सीओपीडी हो कि होइन भनेर छुट्याउने तीनवटा आधारहरु छन् । पहिलो उमेर, दोस्रो रिस्क फ्याक्टर र तेस्रो हो लक्षण ।
हामीले बुझ्नु पर्ने कुरा के भने सीओपीडी युवा अवस्था वा बाल्य अवस्थामा हुने रोग होईन ।

यो त ३५ देखि ४० बर्ष माथिका व्यक्तिहरुलाई देखिने रोग हो । तर दम अर्थात ब्रोङ्किएलआज्मा बालबालिका किशोर किशोरीहरुलाई पनि देखिने गर्दछ । त्यसैले लक्षण ब्रोङ्किएलआज्मा संग मिले पनि यदि यो ३५- ४० भन्दा माथिको उमेरको छैन भने त्यो सीओपीडी नहुन सक्छ ।

यस्तै सीओपीडी हुनका लागि रिस्क फ्याक्टर हुनु पर्दछ । त्यो व्यक्ति जसलाई सीओपीडी लागेको छ, उ रिस्क फ्याक्टरमा परेको हुनु नै पर्छ । जस्तै उसले चुरोट खाएकै हुनुपर्छ । या त उ प्रदुशित ठाँउमा काम गनेृ व्यक्ति हुनुपर्छ । या उ इन्डोर पोलुसनमा काम गर्ने व्यक्ति हुनपर्छ । यस्तै सेकेण्डरी स्मोकिङमा पनि परेको व्यक्ति हुनुपर्छ ।

अर्को तेस्रो भनेको सीओपीडीको लक्षण मिलेको हुनपर्छ । जस्तो कि खोकी लाग्ने खकार निस्कने, स्वासप्रश्वासमा अवरोध हुने आदि लक्षण पनि हुनुपर्दछ ।

कोभिड बेलामा सीओपीडीका बिरामीहरुलाई बढी असर देखियो ?
सीओपीडीका बिरामीलाई कोभिडका बेला स्वभाविक रुपमा बढी कष्टकर भयो । पहिलो कुरा कोभिडबाट जोगिन गाह्रो र कोभिड भईसकेपछि त झनै गाह्रो । यसै पनि सीओपीडीका बिरामीको फोक्सो स्वस्थ व्यक्तिको जस्तो राम्रो हुँदेन । त्यसमाथि कोरोना संक्रमण हुँदा फोक्सोका टिस्युहरु फाइब्रोसिस (खुम्चिने) भएर बढी कमजोर हुने गर्दछ । यसले धेरै समस्या देखिएको हो ।

सीओपीडीका बिरामीहरुले के कुरामा ध्यान दिने ?
सीओपीडीका बिरामीहरु रिस्क फ्याक्टर नै हुन्छ । सीओपीडीको हिस्ट्री लिदा नै रिस्क फ्याक्टर थाहा हुन्छ नै । मैले माथि नै भनेको छु, या त वातावरणको प्रदुषण, यात कारखानामा काम गर्ने , या त धूमपान गर्ने । यी सबै रिस्क फ्याक्टरमा पर्ने हुन् । हामीले के बुझ्न परयो भने सीओपीडी लागेपछि यो क्रमिक रुपमा बढदै जाने हो ।

उपचार भनेको यसरी बढदो क्रमलाई रोक्नका लागि हो । यसका लागि रिस्क फ्याक्टरहरुलाई रोक्नु जरुरी छ । जस्तो धूमपान छाड्नु परयो । वायू प्रदुषण भएका बेलामा निस्कन भएन, प्रदुषित क्षेत्रमा काम गर्नेले त्यो ठाँउमा गएर काम गर्न भएन, घर भित्रको धुवामा काम गर्नेले पनि त्यस्तो काम गर्न छाड्नु पर्छ । यसो गरेमा तिब्र गतिमा बढ्ने खतरालाई नियन्त्रण गर्न वा सुस्त गतिमा ढाल्न सकिन्छ ।

यस्तै चिसो जाडो र चिसोको मौसममा सीओपीडी लगायत अरु स्वासप्रस्वासको रोगहरु पनि हुन्छ । चिसोबाट बच्न अति आवश्यक हुन्छ । सबेरै बाहिर ननिस्कने र बेलुका सकेसम्म छिटो घरमा आउने बानी बसाल्नु पर्छ । न्यानो लुगा लगाउने र शरीरलाई ढाक्ने काम गर्नुपर्दछ ।

नेपालमा सीओपीडीको विरामीहरु कति छन् ?
नेपालमा अहिलेसम्मपूर्ण रुपमा सीओपीडीको तथ्यांक आउनेगरी अध्ययन भएको छैन् । तर विभिन्न निकायले गरेको स साना अध्ययनबाट २३ देखि ४० प्रतिशत जनसंख्यामा कुनै न कुनै सीओपीडीको समस्या भएको उल्लेख छ । यसको संक्रमण दर र मृत्युदर पनि बढ्दो क्रममा छ । विश्व स्वास्थ्य संगठनले पनि सीओपीडी तिब्ररुपमा फैलिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

नेपालमा सीओपीडीको औषधि उपचार कस्तो छ ?

सीओपीडीको उपचारका लागि दक्ष जनशक्ति, आवश्यक पर्ने औषधि र उपकरणहरु अस्पतालहरुमा छन् । ग्रामिण भेगमा दक्ष जनशक्ति पुगेको नहुन सक्छ तर अत्यावश्यक औषधिहरु पाउन सकिन्छ । त्यसैले म के भन्छु भने माथि उल्लेख गरेका लक्षणहरु मिलेका बिरामीहरुले एकपटक विशेषज्ञ डाक्टरसंग परामर्श गर्नुहोला । उपचार गरेपछि यसलाई नियन्त्रण गर्न सकिन्छ ।


ताजा खबर