३४ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर केसी निलम्बित

गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ ।

नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा आइतबार राति पक्राउ गरेको थियो ।

सुरुमा ब्युरोले बुटबलका खिलेन्द्रसिंह जिसीलाई एक रिसोर्टबाट नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुन जस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।

उनीमाथि गरिएको अनुसन्धानका क्रममा उक्त घटनामा स्थानीय व्यवसायी किसन विक र डीएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमै पुगेर प्रहरीले पक्राउ गरेको थियो ।

उनको घरमा खानतलासी गर्दा नगद आठ लाख ५० हजार फेला पारी बरामद गरिएको सीआइबीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

सीआइबीको टोलीले सोही दिन नै बरामद भएको रकम, सुन जस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्रसिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो । प्रहरीले उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ । रासस


ताजा खबर