सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवमा आज तिलकोत्सव सम्पन्न

जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज तिलकोत्सव पर्व सम्पन्न भएको छ । विवाह पञ्चमीको चौथो दिन राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न भएको छ ।

त्रेता युगमा भगवान् राम र सीताको शुभ विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत तिलकोत्सव पर्व मनाइएको हो ।

जानकी मन्दिरबाट भगवान् रामको तिलकोत्सवका लागि कोसेली स्वरूप ‘भार’ बाजागाजासहित यस पटक जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव साधु सन्त, महन्थ, योगी, सन्यासी, राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधि सहित राम मन्दिर पुग्नुभएको थियो ।

तिलकोत्सव कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नंं ३ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य जुली कुमारी महतो, प्रदेश सभाका सदस्य दीपेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह सुढी र धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायत उपस्थित रहनुभएको थियो ।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोलि मटकोर विधि तथा मङ्सिर १२ गते स्वयंम्बर तथा राति जानकी मन्दिरको प्राङ्गणमा आकर्षक मण्डपमा शुभ विवाह तथा मङ्सिर १३ गते राम कलेवासहित विवाह पञ्चमीको समापन गर्ने कार्यक्रम रहेको छ ।


ताजा खबर