विश्वकपः साउदी अरबविरुद्ध पोल्यान्डको रोमाञ्चक जित

पोल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा साउदी अरबमाथि रोमाञ्चक जित निकालेको छ ।

समूह ‘सी’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा बिहीबार साँझ भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २-० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा साउदी अरबले पहिलो हाफमा पाएको पेनाल्टी गुमाउँदा दबाब खेपेको थियो ।

पोल्यान्डको जितमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले गोल गर्नुभयो । पोल्यान्डले ३९औं मिनेटमा पिटर जिलेन्स्कीको गोलमा अग्रता लिएको थियो । पिटरले रोबर्ट लेवान्डस्कीको पासमा गोल गर्नुभएको हो ।

४५अ‍ौं मिनेटमा साउदी अरबले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पाएको थियो । पोल्यान्डका खेलाडीले अल शेहरीलाई डिबक्सभित्र लडाएपछि भिएआरको सहायतामा प्राप्त पेनाल्टीमा मोहमद अल्बुरेक चुक्नुभयो ।

मोहमदको पेनाल्टी प्रहारलाई पोल्यान्डका गोलरक्षक वजसिएक सेचेज्नीले बचाउनुभएको थियो । त्यसपछि पनि साउदी अरबको प्रयासमा सेचेज्नी बाधक बन्नुभयो । ८२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई सजिलै जिताउनुभयो ।

जितसँगै दुई खेलबाट चार अंक बनाएको पोल्यान्ड समूहको शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको साउदी अरबको तीन अंक छ । पहिलो खेलमा साउदीले अर्जेन्टिनालाई २-१ गोलले हराएको थियो ।

पहिलो खेलमा पोल्यान्ड मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो । मेक्सिकोको एक अंक छ । अंकबिहिन अर्जेन्टिना अन्तिममा छ । आजै (शनिबार) राति अर्जेन्टिना र मेक्सिकोबीच प्रतिस्पर्धा हुँदैछ । –रोयटर्स


ताजा खबर