अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा १२ देशका नाटक देखाइने

नेपालमा दोस्रो पटक ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव हुँदैछ । मंसिर ९ गतेदेखि १७ गतेसम्म  सञ्चालन हुने महोत्सवमा १२ देशको १८ वटा नाटक देखाइनेछ।

९ दिनसम्म सञ्चालन हुने महोत्सवमा ३० वटा सो राखिएको छ । नाटक थिएटरसम्बन्धी ४ वटा वर्कसप छन् । सेमिनार, मास्टर क्लास, विभिन्न प्यानलका छलफल गरिने नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सवका संचार संयोजक केदार श्रेष्ठले बताए।

काठमाडौंको थापाथलीस्थित मण्डली थिएटरमा हुने महोत्सवमा १२ देशका कलाकार एकै ठाउँमा भेला हुने महोत्सवका संचार संयोजक श्रेष्ठले बताए । ‘महोत्सवका लागि भारतीय अभिनेत्री तथा रंगकर्मी शबाना आजमीपनि काठमाडौं आउँदैछिन्,’ उनले भने ।

नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव हुँदैछ भनेर प्रचार गरिएको थियो । सोही प्रचारपछि विश्वभरीबाट ८५ वटा आवेदन आएको थियो । ती नाटकहरुबाट छनोट गरी १८ वटा नाटक प्रर्दशन गर्न लागिएको उनको भनाइ छ । ‘लोक शौली, फिजिकल थिएटर लगायत फरक–फरक शौली र कन्टेन्टका नाटक समावेश गरिएका छौँ,’ संचार संयोजक श्रेष्ठले भने ।

नेपालमा प्राय ड्रामाबेसको नाटकमात्र हेरिन्थ्यो । महोत्सवमा पकेट थिएटरलगायत फरक–फरक शौली र विषयबस्तुका नाटक समावेश छन्। ‘यो महोत्सवले विश्वका विभिन्न ठाउँमा कसरी नाटक भइरहेको छ भनेर हेर्ने अवसर हो,’ उनले काठमाडौं प्रेससँग भने, ‘स्पेन, रसिया, श्रीलकां, बङ्गलादेश, भारत, इटली लगायतका विभिन्न ठाउँका नाटक समावेश छन्।’

यो पटक नाटक मण्डला थिएटरमा मात्र सञ्चालन गरिएको छ। काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, जर्मनी सहयोगको सहकार्यमा महोत्सव हुन लागेको हो। यीबाहेक अन्य नाट्य थिएटरलेपनि सहयोग गरिरहेका छन्। फरक–फरक समयमा हुने नाटक हेर्नका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको  संयोजक श्रेष्ठले बताए।

उक्त महोत्सवका लागि डेढ करोडभन्दा बढी खर्च भएको संयोजक श्रेष्ठले जानकारी दिए। ‘दुईसयभन्दा बढी रंगकर्मी तथा कलाकार भेला हुने र अन्तराष्ट्रियस्तरबाट आउने भएकाले खर्च भएको हो,’ उनले भने।

महोत्सवका लागि डेढ महिना अघिदेखि १ सय जना खटिरहेका छन् । उनीहरुले स्वयंसेवकको रुपमा काम गरेका हुन्। मण्डला थिएटरमा दुईवटा हल छन्। दुवैमा गरेर ३ सयजना दर्शक अट्छन्। फरक–फरक समयमा नाटकको सो राखिएको छ। यो नेपालमा गरिएको दोस्रो महोत्सव हो।

नेपालमा पहिलोपल्ट २०१९ मा ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव’ भएको थियो । त्यतिबेला विभिन्न नाट्य संस्था मिलेर सामुहिक रुपमा आयोजना गरेको थियो। चारवटा नाटक घरमा नाटक महोत्सव भएको उनको भनाइ छ। ‘कीर्तिपुरको थिएटरमहलमा, टेकुको कौशी थिएटरमा, अनामनगरको मण्डला थिएटर र बत्तीसपुतलीको शिल्पी थिएटरमा सञ्चालन भएको थियो,’ उनले भने, ‘पोखरा, जनकपुर र विराटनगरमा फेस्टिवल गरेका थियौँ ।’

त्यतिबेला ३० वटा नाटक देखाइएको उनको भनाइ छ।


ताजा खबर