नेपाली मूलकी परिजिता अमेरिकी सो ‘द भ्वाइस’को अन्तिम १० मा

नेपाली मूलकी परिजिता बाँस्कोटा अमेरिकी संस्करणको टेलिभिजन रियालिटी सो ‘द भ्वाइस’को अन्तिम–१० मा प्रवेश गर्नुभएको छ।

मङ्गलबार भएको प्रतिस्पर्धामा उहाँ मतका आधारमा आगामी चरणमा प्रवेश गर्नुभएको हो। जोन लिजेन्ड समूहमा रहेर प्रतिस्पर्धा गरिरहनुभएकी उहाँले गायिका एडेलको गीत ‘अल आई आस्क…’ गाउनुभएको थियो। उहाँको उक्त गीतलाई पनि निर्णायकहरूले प्रशंसा गर्नुभएको थियो। ‘ब्लाइन्ड अडिसन’बाटै उहाँको चर्चा भइरहेको छ।

उहाँले ‘ब्लाइन्ड अडिसन’मा गायक ल्याब्रिन्थको ‘जेलस…’ बोलको गीत गाउँदै चारै जना निर्णायकको कुर्सी घुमाउनुभएको थियो। ब्याटल राउन्डमा भने उहाँले ‘हाउ डिप इज योर लभ…’ बोलको गीत गाउनुभयो।

नकआउट राउन्डमा भालारी हार्डिङ र पेटन एल्ड्रिजसँग एट्टा जेम्सको ‘आई वुड -यादर गो ब्लाइन्ड’ बोलको गीत गाउँदै राम्रो प्रस्तुति दिनुभएको भन्दै कोच जोनले उहाँलाई आफ्नो टिममा छनोट गर्नुभएको थियो।

गायन रियालिटी सो ‘द भ्वाइस’ अमेरिकाको एनबीसी टेलिभिजनबाट प्रसारण भइरहेको छ।


ताजा खबर