स्पेनले कोस्टारिकालाई ७-० गोलले हरायो

फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को आफ्नो खेलमा स्पेनले कोस्टारिकामाथि गोलको वर्षा गरेको छ । अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोलले हरायो ।

एकपक्षीय खेलमा स्पेनलाई जिताउन फेरान टोरेसले दुई गोल गर्नुभयो । गाभी, ड्यानी ओल्मो, अल्भारो मोराटा, कार्लोस सोलेर र मार्को असेन्सियोले एक एक गोल गर्नुभएको थियो ।

पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा चार गोल थपेको थियो । खेलभर बल नियन्त्रणमा राखेको स्पेनले ११औँ मिनेटमा ओल्मोको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

ओल्मोको यस गोल विश्वकपमा स्पेनको सयौँ गोल हो । २१औँ मिनेटमा असेन्सियोले जोर्डी अल्बाको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

३१औँ मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा स्पेनलाई बलियो बनाउनुभयो । डिबक्सभित्र अल्बालाई कोस्टारिकाका ओस्कार डुवाटे लडाएपछि स्पेनले पेनाल्टीको मौका पाएको थियो ।

त्यसपछि ५४औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल थप्नुभयो । ७४औँ मिनेटमा गाभीले अल्भारो मोराटाको पासमा गोल गर्नुभयो । ९०औँ मिनेटमा कार्लोस सोलेर र इन्जुरी समयमा मोराटाले गोल गर्दै स्पेनलाई सानदार जित दिलाउनुभयो ।

पहिलो जितसँगै स्पेन समूहको शीर्षस्थानमा छ । जापानको पनि तीन नै अङ्क छ । बुधबार साँझ भएको खेलमा जापानले जमर्नलाई २-१ गोलले हराएको थियो । कोस्टारिका र जर्मनीले हारबाट कतार विश्वकपको सुरुवात गरेको छ । एजेन्सी


ताजा खबर