जाडोमा बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ?

~डा.रिता सिंह

जाडो मौसममा विशेषगरी बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन्छ । ती मध्ये चिसो मौसममा बालबालिकाको छाती घ्यार–घ्यार हुने समस्या पनि एक हो । यो समस्याले बच्चालाई सिकिस्त पार्न सक्छ । तर, कतिपय सामान्य अवस्थामा पनि साना बच्चाहरुमा त्यो आवाज सुनिन्छ । यसरी बच्चाको छाती घ्यार–घ्यार हुने कारणहरु धेरै छन् ।

घ्यार–घ्यार हुने कारणहरु

नाक बन्द

पहिलो कुरा त बच्चालाई चिसो मौसममा रुघा लागेपछि नाक बन्द हुन्छ । त्यसपछि उनीहरुलाई श्वास फेर्न गाह्रो भएपछि नाक बझ्छ । त्यसैलाई कतिपय आमाहरु निमोनिया पो भैहाल्यो कि भनेर आत्तिन्छन् । २ वर्षभन्दा कम उमेरका बालबालिकाको नाकको प्वाँल सानो हुने भएकाले उनीहरुको नाक थोरै बन्द हुँदा पनि घ्यार–घ्यार आवाज आउँछ । यस्तो अवस्थामा बच्चालाई हल्का ज्वरो, रुघा, नाकबाट सिगान बगिरहने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् । यसलाई साधारण मान्नुपर्छ ।

टन्सिलमा इन्फेक्सन

मुखमा टन्सिल इन्फेक्सन भयो भने पनि घ्यार–घ्यार आवाज आउन सक्छ । हाम्रो घाँटीमा दुईवटा टन्सिल हुन्छ । त्यसमा इन्फेक्सन भयो भने दुवै टन्सिल सुन्निन्छन् । जसले गर्दा बच्चाहरुले श्वासप्रश्वास गर्दा घ्यार घ्यार आवाज आउँछ । टन्सिलमा धेरै इन्फेक्सन भएको छ भने उच्च ज्वरो आउने, बच्चा सुस्त हुने, खानेकुरा खान मन नगर्ने, र्याल चुहाउनेजस्ता लक्षण देखिन्छन् ।

श्वास फेर्ने नलीमा इन्फेक्सन

यस्तै, हाम्रो शरीरको तल्लो श्वास फेर्ने नलीमा कुनै भाइरसले गर्दा इन्फेक्सन भयो भने पनि बच्चाहरुमा घ्यार–घ्यार हुन सक्छ । यसलाई क्रुप पनि भनिन्छ । जसमा ज्वरो आउने, कुकुरले भुकेको जस्तो खोकीको आवाज आउनेजस्ता लक्षण देखिन्छ ।

फोक्सोमा इन्फेक्सन

फोक्सोमा विभिन्न किसिमका इन्फेक्सन हुन सक्छन् । विशेषगरी ६ महिनादेखि २ वर्षमुनिका बच्चाहरुमा भाइरसले गर्दा फोक्सोमा हुने इन्फेक्सनलाई ब्रोन्क्य्योलाइटिस भनिन्छ । यो अवस्थामा बच्चालाई ज्वरो आउने, रुघा लाग्ने, खोकी लाग्नेजस्ता समस्या हुन्छ । तर, बच्चा बिरामी छ जस्तो देखिँदैन । तर, छातीमा घ्यार–घ्यार आवाज भने आएको हुन्छ ।

निमोनिया

निमोनिया पनि फोक्सोमा हुने इन्फेक्सनकै कारणले हुने हो । वातावरणमा हुने विभिन्न ब्याक्टेरियाले बच्चाको फोक्सोमा इन्फेक्सन हुन्छ । जसले निमोनिया गराउँछ । यसले गर्दा पनि बच्चामा छाती घ्यार घ्यार भएको आवाज सुनिन्छ । निमोनिया हुँदा बच्चालाई उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, श्वासको गति बढ्ने, कोखा हान्ने, खान मन नगर्नेजस्ता लक्षण देखा पर्छन् ।

सुस्त बच्चा

कुनै कुनै बच्चा शारीरिक रुपमा सुस्त हुन्छन् । जसले गर्दा उनीहरुले जोडले खोक्न सक्दैनन् । यसरी खोक्न नसक्दा उनीहरुको घाँटीमा जमेको पानी बाहिर निस्कन पाउँदैन । त्यसपछि घ्यार—घ्यार सुरु हुन्छ ।

बचाउने उपाय

– बच्चालाई न्यानो राख्ने

– हावा आवत

—जावत हुने कोठामा बच्चालाई राख्ने

– प्रोटिनयुक्त, भिटामिनयुक्त खानेकुरा खुवाउने

– धुलो, धुवाँबाट टाढा राख्ने

– रुघाखोकी लागेका मान्छेबाट बच्चालाई टाढा राख्ने

– नाक बन्द छ भने नुनपानी राखेर नियमित सफा गरिदिने

– चिकित्सकको परामर्श लिने

बरिष्ठ बालरोग विशेषज्ञ डा.सिंह काठमाडौं चावहिलस्थित ॐ अस्पतालमा कार्यरत हुनुहुन्छ ।


ताजा खबर