प्रधानमन्त्री देउवा साढे १२ हजार मतान्तरसहित विजयी

प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभएको छ । नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले सात हजार ५३५ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मतगणना सकिएको र औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिनुभएको छ । गणना भएको ५१ हजार २०३ मतमध्ये तीन हजार १८७ मत बदर भएको छ ।

प्रधानमन्त्री देउवाको संसद् यात्रा

पहिलो पटक २०४८ सालमा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार बन्नु भएका देउवा विजयी भएपछि त्यसयताका ६ वटै निर्वाचनमा विजयी हुनुभएको छ । यस पटक सातौँ पटक उहाँ विजयी हुनुभएको हो ।

देशको पाँच पटक प्रधानमन्त्रीसमेत भएर इतिहास बनाउनु भएका देउवा नयाँ संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन दुई पटक गराउन सफल हुनुभएको छ ।

देउवा २०४८ सालमा २४ हजार ५७० मत प्राप्त गरेर पहिलो पटक डडेलधुराबाट निर्वाचित हुनुभएको थियो । देउवाले २०५१ मा २० हजार ७०१ मत प्राप्त गरेर विजयी हुनुभएको थियो । २०५६ सालमा २६ हजार ६५१ मतसहित विजयी हुनुभयो भने २०६४ सालको निर्वाचनमा देउवाले २० हजार ५२९ मत प्राप्त गर्नुभयो ।

२०७० सालको निर्वाचनमा देउवा २३ हजार ९२० मतसहित विजयी हुनुभएको थियो । पछिल्लो निर्वाचन २०७४ मा देउवाले २८ हजार ४४६ मत पाउनुभएको थियो ।

एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटकको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबाट देउवा उम्मेदवार बन्नुभएको हो । यो ऐतिहासिक विजयले देउवालाई फेरि देशको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।


ताजा खबर