प्रतिनिधिसभा समानुपातिकतर्फ ‘रास्वपा’ तेस्रो स्थानमा

प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार ६६२, कांग्रेसको एक लाख ६७ हजार ३८६ र रास्वपाको ८६ हजार २४ मत रहेको छ ।

समानुपातिकतर्फको मतगणनामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) लगायत दलहरू रास्वपाभन्दा पछाडि छन् । निर्वाचन आयोगका अनुसार माओवादी केन्द्र ८० हजार दुई सय मतसहित चौथो र राप्रपा ४५ हजार ५९६ मतसहित पाँचौँ स्थानमा छ ।

त्यस्तै, छैटौँ स्थानमा रहेको जनमत पार्टीले समानुपातिकतर्फ १४ हजार ३७८ मत पाएको छ । सातौँ स्थानको जसपाले १३ हजार ९७९, आठौँ स्थानको नेपाल मजदुर किसान पार्टीले १० हजार ९५९ र नवौँ स्थानको एकीकृत समाजवादीले १० हजार ५९ मत पाएको छ । नौ हजार ४१० मतसहित नागरिक उन्मुक्ति पार्टी समानुपातिकतर्फको मतगणनामा दशौँ स्थानमा छ । रासस


ताजा खबर