विश्वका हेर्नैपर्ने विमानस्थलको सूचीमा लुक्लाको तेन्जिङ-हिलारी

आर्टेमिस एयरस्पेसले विश्वका छवटा हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थललाई पनि समावेश गरेको छ । विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरिएको छ ।

स्कटल्यान्डको बारा विमानस्थल पहिलो स्थानमा छ भने ग्रिसको स्कियाथोस अलेक्ज्यान्ड्रोस दोस्रो स्थानमा छ । यसैगरी ब्राजिलको सान्टोस गुमेन्ट, इटालीको भेनिस मार्काेपोला र आयरल्यान्डको डोनेगल विमानस्थल क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् ।

उड्डयनसम्बन्धी काम गर्न बेलायती संस्था आर्टेमिस एयरस्पेसले विमानस्थलको अवस्थिति र प्राकृतिक सुन्दरताका आधारमा उक्त छवटा विमानस्थललाई ‘हेर्नैपर्ने’ विमानस्थलको सूचीमा समावेश गरेको हो ।

‘सगरमाथाको प्रवेशद्वार यो (तेन्जिङ–हिलारी) विमानस्थल सुन्दर हिमालको बीचमा छ । यात्रुले हिमालको सुन्दर दृश्यावलोकन गर्न सक्छन्,” आर्टेमिस एयरस्पेसले उल्लेख गरेको छ ।

वरिपरि भिराला पहाडले घेरिएको, छोटो धावन मार्ग (एक हजार ७२९ फिट), छिनछिनमा बदलिने मौसमलगायतका कारण यो विमानस्थललाई विश्वकै जोखिमपूर्ण विमानस्थलको सूचीमा पनि राखिने गरेको छ ।

सगरमाथाको प्रवेशद्वार

सगरमाथा आरोहण तथा खुम्बुक्षेत्रको भ्रमणको सपना देख्ने व्यक्तिको मानसपटलमा आउने पहिलो ठाउँको नाम हो लुक्ला । नेपालको प्रदेश १ को उत्तरी भागमा अवस्थित दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको तेन्जिङ–हिलारी विमानस्थल लुक्ला विश्वका सुन्दर विमानस्थलमध्ये पर्छ । सन् १९७१ देखि सञ्चालनमा आएको यो विमानस्थल समुद्री सतहभन्दा दुई हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

हरियो जङ्गलले ढाकिएका अग्ला पहाडको खोँचमा रहेको यो विमानस्थलको शिरमा सेता हिमाल छन् । बर्सेनि हजारौँ पर्यटक सगरमाथाको आधार शिविरतिर जान्छन् । सगरमाथा आरोहण र पदयात्रामा जानेका लागि यो प्रवेशद्वार हो । वरिपरि अग्ला पहाडको बीचमा रहेको विमानस्थलको लम्बाइ ५२७ मिटर र चौडाइ २० मिटरमा फैलिएको छ ।

त्रिभुवन विमानस्थलपछिको आन्तरिक उडान भर्ने विमानस्थलमध्ये अति व्यस्त रहने यो विमानस्थलमा पर्यटकीय सिजनमा दैनिक एक सयभन्दा बढी उडान तथा अवतरण हुने गरको नेपाल नागरिक नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । पहिले लुक्ला विमानस्थलका रूपमा चिनिएकामा पछि सगरमाथाको पहिलो सफल आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीप्रति सम्मान व्यक्त गर्न यसको नामकरण तेन्जिङ–हिलारी विमानस्थल गरिएको हो । यो हिलारीकै सहयोगमा सन् १९६० तिर निर्माण सुरु भएको थियो ।

वार्षिक एक लाखभन्दा बढी यात्रु

विमानस्थल स्रोतका अनुसार लुक्ला विमानस्थलमा वार्षिक सरदर एक लाखभन्दा बढी यात्रुले सेवा लिने गरेका छन् । जसमा सन् २०१६ मा सबैभन्दा बढी एक लाख १९ हजार ८०१ जना यात्रुले सेवा लिएका थिए । झन्डै ५१ वर्षको इतिहास बोकेको विमानस्थलमा वर्षमा सयौँ हवाईजहाज उडान र अवतरण गर्छन् ।

हरिया पहाड र चाँदीका पर्खालजस्ता सेता हिमशिखरहरू नजिकनजिक भएकाले यो झनै सुन्दर देखिन्छ । सगरमाथा आरोहण गर्न आउने विश्वका सबै पर्वतारोही लुक्लाबाट पैदल मार्ग हुँदै शिखरसम्म पुग्दछन् । सगरमाथालाई प्रेम गर्ने सबै पर्यटकको सङ्गमस्थल नै यही हो ।

विश्वकै जोखिमपूर्ण विमानस्थल

यो विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलका रूपमा विश्वभर परिचित छ । खुम्बु प्रवेशको मुख्य नाकामा पर्ने उक्त विमानस्थलमा हुस्सु र हावाले उडानमा जटिलता थप्ने विमानचालक बताउँछन् ।

अधिकांश उडान बिहानी समयमा भए पनि विमानस्थल आसपासका डाँडामा पश्चिमी वायु ठोक्किएर बीचमै हावा घुमिरहने भएकाले पनि चैत–वैशाखमा जहाज नियन्त्रणमा चुनौती देखिने गर्छ ।  यसको अर्काे जोखिमपूर्ण पक्ष भनेको विमानस्थल खोँचमा भएका कारण अवतरण गर्न आएको जहाजलाई ‘ओभरसुट’ (अवतरण नगरी फेरि आकाशतिर लैजानु) गर्न नसकिने चालकको भनाइ छ ।


ताजा खबर