मतदानमा उत्साहपूर्वक सहभागी हुन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन आम मतदातालाई आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले  निर्वाचनका अवसरमा आज एक सन्देश जारी गर्नुहुँदै मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन सबै मतदातालाई आग्रह गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान पनि गर्नुभएको छ ।

जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आम निर्वाचनको ऐतिहासिक महत्त्व रहने राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

उहाँले, जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।


ताजा खबर