आचारसंहिता र आयोगका निर्देशन अवज्ञा नगर्न आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने बताउनुभएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका सङ्घसंस्था र युवा अभियन्तासँग आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गराउन सघाउनुपर्ने बताउनुभयो ।

उहाँले आचारसंहिताको उल्लङ्घन र निर्देशनको अवज्ञा भएमा उल्लङ्घनकर्तालाई महँगो पर्न सक्ने चेतावनी समेत दिनुभयो । उहाँले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारबाही हुने स्पष्ट गर्नुभयो । निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनहरूको कसैले अवज्ञा गरे त्यो महँगो हुने उहाँको चेतावनी थियो ।

युवाहरूलाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उहाँले आचारसंहिताको उल्लङ्घन पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराउनुभयो ।

जुनसुकै निर्वाचनमा जित्ने उम्मेदवारभन्दा हार्नेको सङ्ख्या बढी हुने व्याख्या गर्दै उहाँले निर्वाचनपछिको राजनीतिक वातावरण धूमिल हुन नदिन र सौहार्द्यता कायमका लागि पनि युवाहरूले सकारात्मक भूमिका निर्वाह खेल्न सक्ने उल्लेख गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले मतदान केन्द्रहरू सकेसम्म अपाङ्गता मैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस् । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ ।”


ताजा खबर