प्रधानसेनापति ट्राइ एडभेन्चर मङ्सिरमा हुने

नेपाली सेनाको आयोजनामा हुने पाँचाैँ संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने उक्त प्रतियोगिता आगामी मङ्सिर ९ गते हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी एवं उक्त प्रतियोगिताका निर्देशक राजीव चन्दले जानकारी दिनुभयो ।

उहाँले उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी मङ्सिर १ गतेसम्म टिम दर्ता गराउन पाउनेसमेत बताउनुभयो । उक्त प्रतियोगितामा निःशुल्क टिम दर्ता गराउन पाइनेछ ।

दौड, साइक्लिङ र र्‍याफटिङ समावेश हुने उक्त प्रतियोगितामा एक टिममा चार खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले एक लाख ६० हजार रुपैयाँ पाउनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रोले एक लाख, चौथोले २० हजार र पाँचौँ हुने टोलीले १० हजार हजार पाउनेछन् । रासस


ताजा खबर