अबको पाँच वर्ष चीन हाँक्ने प्रमुख सात नेताहरु यि हुन

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को कात्तिक ५ गते सम्पन्न २०औं महाधिवेशनबाट गठन भएको केन्द्रीय समितिले आगामी पाँच वर्ष चीन हाँक्ने जिम्मेवारी सात नेतालाई सुम्पेको छ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपलको भव्य रातो मञ्चमा आइतबार सी चिनफिङ स्वदेशी र विदेशी पत्रकारतर्फ फर्किएर हात हल्लाउँदै अग्रपंक्तिमा उक्लिए। उनलाई पछ्याउँदै ६ जना उच्च अधिकारी पनि मञ्चमा उक्लिए र सीलाई मध्यभागमा पारेर दायाँ-बायाँ उभिए। यो चीनलाई आगामी पाँच वर्षसम्म नेतृत्व गर्ने सात शक्तिशाली पोलिटब्यूरो स्थायी समिति सदस्यको एकसाथ पहिलो सार्वजनिक कार्यक्रम थियो।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को कात्तिक ५ गते सम्पन्न २०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको आइतबार बसेको पहिलो बैठकले सी चिनफिङलाई नै आगामी पाँचवर्षे कार्यकालका लागि महासचिव रोजेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो कार्यकालका लागि महासचिव पदसँगै सी आगामी पाँच वर्षका लागि राष्ट्रपति पनि हुनेछन्। उनी पार्टीको सैन्य आयोगका अध्यक्ष पनि बनेका छन्।

पार्टीको केन्द्रीय समितिबाट चुनिएका महासचिव सी सहित सात स्थायी समिति सदस्यमा चार नयाँ अनुहार छन्। उनीहरू सबै ६० वर्षमाथिका छन्। चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले सार्वजनिक गरेको सूची अनुसार, महासचिव सी चिनफिङपछि दोस्रो वरीयताक्रममा ६३ वर्षीय ली छिआङ् छन्। यसको अर्थ उनी आगामी मार्चमा चीनको प्रधानमन्त्री बन्ने सम्भावना छ।

औपचारिक नियम नभए पनि महासचिव सीपछि दोस्रो वरीयताक्रमका नेता प्रधानमन्त्री रोजिने अभ्यास छ। चाओ लेची, वाङ हुनिङ, छाई छी, दिङ सुइसिआङ् र ली सी स्थायी समितिका अन्य सदस्य हुन्। चाओ लेची र वाङ हुनिङ भने यसअघि पनि पोलिटब्यूरो स्थायी समिति सदस्य थिए। उनीहरू सबै महासचिव सी पक्षधर मानिन्छन्।

प्रधानमन्त्रीको सम्भावित दाबेदारका रूपमा अनुमान गरिएका पोलिटब्यूरो सदस्य ५९ वर्षीय हु छुन्ह्वा पार्टीभित्रको प्रतिस्पर्धामा पाखा लागेका छन्। उनलाई राष्ट्रपति सीको भित्री टीमको मानिंदैन। बरु उनलाई अघिल्ला राष्ट्रपति हु चिन्ताओ नजिकको मानिन्थ्यो। उनी स्थायी समितिमा मात्र होइन, २५ सदस्यीय पोलिटब्यूरो समितिमा समेत परेका छैनन्।

सात सदस्यीय पोलिटब्यूरो स्थायी समिति चीनको सर्वाधिक शक्तिशाली संस्था हो। पार्टी महासचिव तथा राष्ट्रपति सी बाहेकका पाँच सदस्य छन्।

ली छ्याङ।
ली छिआङ्: शाङ्हाईका पार्टी सचिव रहेका ली राष्ट्रपति सीका सबैभन्दा विश्वसनीय नेतामध्ये मानिन्छन्। सी चिनफिङ चच्याङ प्रान्तको पार्टी प्रमुख रहँदा ली उनका प्रमुख सहायक थिए।

कोभिड-१९ को रोकथामका लागि शाङ्हाईमा लामो समय बन्दाबन्दी गरिएपछि ली स्थानीय बासिन्दाको आलोचनामा परेका थिए। चच्याङ कृषि विश्वविद्यालयमा पढेका लीले हङकङ पोलिटेक्निक विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका छन्। उनी यसअघि २५ सदस्यीय पोलिटब्यूरो सदस्य थिए।

चाओ लेची।
चाओ लेची: चीनको भ्रष्ट्राचार नियन्त्रण गर्ने संस्था केन्द्रीय अनुशासन आयोगका प्रमुख रहेका ६५ वर्षीय चाओ चीनका उदाउँदा नेतामध्ये एक मानिन्छन्।

उनी यसअघि पनि पोलिटब्यूरो स्थायी समितिका सदस्य थिए। माओकालको सांस्कृतिक क्रान्ति ताका छिङ्हाई प्रान्तको गाउँमा अनिवार्य श्रमदान गरेका चाओले पेकिङ विश्वविद्यालयमा दर्शनशास्त्र अध्ययन गरेका छन्।

४२ वर्षको उमेरमा छिङ्हाईको गभर्नर बनेका चाओ त्यसयता राजनीतिक पदसोपानमा उकालो चढिरहेका छन्।

वाङ हुनिङ।
वाङ हुनिङ: ६७ वर्षीय वाङ राष्ट्रपति सी चिनफिङका प्रमुख विचारक र सल्लाहकारमध्ये एक मानिन्छन्। उनी यसअघि पनि पोलिटब्यूरो स्थायी समिति सदस्य र पार्टीको केन्द्रीय सचिवालयका प्रमुख सचिव थिए।

पूर्व प्राध्यापक वाङलाई पूर्व राष्ट्रपति च्याङ चमिनले आफ्ना लागि परामर्शदाता बनाएका थिए। शाङ्हाईमा जन्मिएका वाङका पिता माओकालमा उत्पीडनमा परेका थिए। चीनको प्रसिद्ध फुतान विश्वविद्यालयबाट उनले कानूनमा स्नातकोत्तर गरेका थिए। २९ वर्षको उमेरमै अन्तर्राष्ट्रिय राजनीति विषयमा सह-प्राध्यापक बनेर उनी चीनभरिमै सर्वाधिक कम उमेरमा सह-प्राध्यापक बन्न पुगेका थिए।

उनी अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीमा समेत केही समय प्राज्ञिक काममा संलग्न भएका थिए। पार्टीको राजनीतिक सिद्धान्त निर्माणकर्ता मानिने वाङले तीन राष्ट्रपति च्याङ चमिन, हु चिन्ताओ र सी चिनफिङको विचारधारा निर्माणमा सघाएका छन्। चीनको महत्त्वाकांक्षी वेल्ट एन्ड रोड (बीआरआई) परियोजना वाङकै अवधारणा मानिएको छ। उनी पार्टीभित्र सबै विचार समूहसँग उत्तिकै नजिक मानिन्छन्।

छाई छी।
छाई छी: राजधानी बेइजिङका मेयर ६६ वर्षीय छाई छी राष्ट्रपति सीका निकट राजनीतिकर्मीमध्ये एक मानिन्छन्।

यसअघि उनी २५ सदस्यीय पोलिटब्यूरो समिति सदस्य थिए। फुचियान र चच्याङ प्रान्तमा उनले सी चिनफिङको मातहत रहेर काम गरेका थिए।

सन् २०१७ मा राजधानीबाट जनसंख्या घटाउने नीति अघि सारेर उनी आलोचनामा परेका थिए। यो नीतिका कारण न्यून आय भएका चिनियाँ राजधानीबाट बाहिर धकेलिन बाध्य बनेका थिए।

फुचियान नर्मल विश्वविद्यालयमा राजनीतिक अर्थशास्त्र पढेका छाई सामाजिक सञ्जालमैत्री मानिन्छन्। उनी पार्टी राजनीतिमा तीव्र गतिमा उकालो चढ्ने नेता पनि हुन्।

दिङ स्युइस्याङ।
दिङ सुइसिआङ्: ६० वर्षीय दिङ सुइसिआङ् यसअघि महासचिव तथा राष्ट्रपति सीको कार्यालयका निर्देशक तथा पोलिटब्यूरो सदस्य थिए।

इन्जिनीयरिङ पृष्ठभूमिका दिङले आफ्नो राजनीतिक यात्रा शाङ्हाईको एक सरकारी अनुसन्धान कार्यक्रमबाट थालेका थिए।

राजनीतिक उचाइमा पुग्न अत्यावश्यक मानिने प्रान्तीय तहको पार्टी सचिव वा गभर्नरको अनुभव नभएका भन्ने आलोचनाका बावजूद सन् २००७ मै उनी सी चिनफिङको सचिव बनेका थिए।

सी चिनफिङ विचारधाराका प्रमुख पक्षधरमध्ये मानिने उनी राष्ट्रपति सीसँग पछिल्ला वर्षमा धेरै समय बिताउने नेतामध्ये मानिन्छन्। च्याङ्सु प्रान्तमा जन्मिएका दिङले यानशान् विश्वविद्यालयमा इन्जिनीयरिङ र फुतान विश्वविद्यालयमा सार्वजनिक प्रशासन पढेका थिए।

ली सी।
ली सी: यसअघि पोलिटब्यूरो समिति सदस्य रहेका ६६ वर्षीय ली क्वाङ्तोङ प्रान्तका पार्टी सचिव पनि हुन्।

आफ्नो राजनीतिक जीवनको अधिकांश समय उत्तरपूर्वी चीनमा बिताएका ली चिनियाँ नेताहरूको परिवारसँग नजिक मानिन्छन्।

क्वाङ्तोङलाई प्रविधिमा आधारित उद्योगको विकास गर्ने तथा क्षेत्रीय व्यापार विस्तारको योजना बनाएको भनी उनै लीले श्रेय पाएका छन्।

नर्थवेस्ट नर्मल युनिभर्सिटीमा पढेका उनले माओको क्रान्तिको आधार क्षेत्र मानिएको यनान प्रान्तमा पार्टी सचिवका रूपमा काम गरेका छन्।

(अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिजिटिएन र सिन्ह्वाको सहयोगमा।)


ताजा खबर