तिहार, म्हपूजा र छठमा टेलिकमको विशेष अफर

तिहार, म्हपूजा तथा छठका अवसरमा नेपाल टेलिकमले आइतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । अफरहरू कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

डाटा प्याकअन्तर्गत २९४ रुपियाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपियाँमा छ जीबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपियाँमा उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसका रूपमा डाटा प्याक उपलब्ध गराइने भएको छ । दुईदेखि ४९९ रुपियाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सय रुपियाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध हुने भएको छ ।


ताजा खबर