रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरे

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकताको घोषणा गरिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिइएको छ।

उनले राप्रपामा सहअध्यक्षको दाबी गर्दै आएका थिए। राप्रपा अध्यक्ष लिङ्देनले उनलाई वरिष्ठ उपाध्यक्ष दिएका हुन्।

राप्रपामा अहिले ६ उपाध्यक्ष छन्। राप्रपाको विधान अनुसार, आठ उपाध्यक्ष रहने व्यवस्था छ।

मिश्रले सोमबार विवेकशील साझाको साधारण सदस्यबाट पनि राजीनामा दिएका थिए। बीबीसीबाट राजीनामा दिएर साझा पार्टी गठन गरेका मिश्रले विवेकशील नेपाली दलसँग एकीकरण गरेर विवेकशील साझा पार्टी बनाएका थिए।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विवेकशील साझाले सोच अनुसार, जित हासिल गर्न नसकेपछि उनले अध्यक्षबाट राजीनामा दिएका थिए। त्यसयता उनी राप्रपासँग एकीकरण गर्ने प्रयासमा लागेका थिए। विवेकशील साझाका अन्य नेताले असहमति जनाएपछि उनी आफैं पार्टी छोडेर राप्रपामा प्रवेश गरेका हुन्।

उनले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। २०७४ सालको चुनावमा पनि उनी काठमाडौं १ बाटै उम्मेदवार बनेका थिए।


ताजा खबर